Kathmandu Press

सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : अध्यक्षा सिटौला

‘अमेरिका पुगेर, युरोपका सडक हेरेर नेपालको नियम र नीतिमा जानु हुँदैन । म जिम्मेवारीका साथ नेपालको सार्वजनिक यातायातलाई बदल्छु भनेर आएको हुँ। आज लगानीकर्ता खुसी छैनन्, काम गर्ने कामदार खुसी छैनन्। किन खुसी भएनन् भने सिंहदरबारमा बसेर नीति बनाउने ठाउँमा राम्रो नीति नआएकै कारण आज भद्रगोल छ,’ उनले भने। 
सडक होइन, नीति नै भद्रगोल छ, पूर्वाधार बिना नियम लागू नगर्नुहोस : अध्यक्षा सिटौला

काठमाडौं, साउन ८ : नेपाल यातायात व्यवसायी महासंघका अध्यक्ष सरोज सिटौलाले नेपालको ट्राफिक व्यवस्थापन र सार्वजनिक यातायात सुधारका लागि पूर्वाधार र व्यवहारिक नीति आवश्यक रहेको बताएका छन्। 

शुक्रबार काठमाडौंस्थित नेपाल पुलिस क्लबमा आयोजित मेट्रो ट्राफिक एफएम ९५।५ मेगाहर्जको १४औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले ट्राफिक एफएमले ट्राफिक व्यवस्थापन, सहजीकरण र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको बताए  

‘मेट्रो ट्राफिक एफएम ९५।५ मेगाहर्जले ट्राफिक व्यवस्थापन गर्न, ट्राफिक सहजीकरण गर्न, जनचेतना फैलाउन विश्वसनीय कुनै एफएम छ भने त्यो ट्राफिक एफएम नै हो । ट्राफिक प्रहरीको जवानदेखि उच्च तहसम्मका सबैलाई सलाम गर्न चाहन्छु,’ उनले भने।

सिटौलाले ट्राफिक प्रहरीको भूमिकाको प्रशंसा गर्दै उनीहरू नभए राजधानीको यातायात व्यवस्था नै अस्तव्यस्त हुने बताए। 

‘ट्राफिक प्रहरी सडकमा नहुँदा शहरै अस्तव्यस्त हुन्छ । मेट्रो ट्राफिक एफएममा म पनि आउँछु । यातायात व्यवसायीहरूको नेतृत्व गर्दै टक शोहरूमा आएका छौँ। तर आज विज्ञापन मागेर देउसी खेल्न घर–घरमा गएजसरी जानुपर्ने दुर्भाग्य हो । सरकारले यसलाई विशेष ढङ्गबाट आर्थिक रूपमा व्यवस्थापन गर्न, साधन–स्रोतयुक्त ढङ्गबाट अगाडि लैजानुपर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालय वा निकायसँग आह्वान पनि गर्न चाहन्छु। मेट्रो ट्राफिक एफएमको आवाज नेपालको कुना–काप्चासम्म पुग्न सकोस्,’ उनले भने  

उनले सरकारले विदेशी मुलुकको सडक व्यवस्थापनको नक्कल मात्र गरेर नेपालमा नीति लागू गर्न नहुने धारणा राखे  

‘अमेरिका पुगेर, युरोपका सडक हेरेर नेपालको नियम र नीतिमा जानु हुँदैन । म जिम्मेवारीका साथ नेपालको सार्वजनिक यातायातलाई बदल्छु भनेर आएको हुँ। आज लगानीकर्ता खुसी छैनन्, काम गर्ने कामदार खुसी छैनन्। किन खुसी भएनन् भने सिंहदरबारमा बसेर नीति बनाउने ठाउँमा राम्रो नीति नआएकै कारण आज भद्रगोल छ,’ उनले भने। 

काठमाडौं उपत्यकामा सवारी साधनको चाप अत्यधिक रहेको उल्लेख गर्दै उनले पूर्वाधार विकासलाई प्राथमिकता दिन सरकारसँग आग्रह गरे। 

‘काठमाडौं उपत्यकामा २३ लाख मोटरसाइकल छन्। २६ लाखभन्दा बढी सवारी साधन छन्, ती कहाँ गुड्ने, त्यसैले पहिला पूर्वाधारको व्यवस्था गरिदिनुहोस्,’ उनले भने।

प्रकाशित मिति: १२:१४ बजे, शुक्रबार, साउन ८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्