Kathmandu Press

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।
कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

माेरङ, साउन ५ : तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ। नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा सुरु भएसँगै पूर्वी नेपालका उद्योगी–व्यवसायीले ढुवानी समय र लागत दुवै घट्ने अपेक्षा गरेका छन्।

गत शुक्रबार कोलकाता बन्दरगाहबाट छुटेको औद्योगिक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो विराटनगरस्थित भन्सार यार्डमा आइपुगेको हो। पहिलो खेपमा मोरङ–सुनसरी औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको कच्चा पदार्थ ल्याइएको छ।

यसअघि तेस्रो मुलुकबाट आउने सामान भारतको बथनाहासम्म रेल र त्यसपछि सडकमार्फत नेपाल ल्याउनुपर्ने बाध्यता थियो। अब भने रेल नै सिधै विराटनगरको भन्सार यार्डसम्म आइपुग्न थालेपछि ढुवानी प्रक्रिया थप सहज बनेको छ।

कार्गो रेल सेवाको औपचारिक शुभारम्भ कोलकातामा आयोजित विशेष समारोहमा गरिएको थियो। कोलकातास्थित नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्य, भारतीय भन्सारका उच्च अधिकारी, कोलकाता पोर्ट तथा भारतीय कन्टेनर निगम (कोनकोर) का प्रतिनिधिले संयुक्त रूपमा हरियो झण्डा देखाएर रेललाई विराटनगरका लागि बिदाइ गरेका थिए।

सोमबार विराटनगर भन्सार यार्डमा रेल आइपुग्दा भन्सार कर्मचारी, उद्योगी तथा व्यवसायीले स्वागत गरेका थिए। उद्योगीहरूले नियमित रेल सेवा सञ्चालनसँगै आयात लागत घट्ने, सामान छिटो आइपुग्ने र उद्योग सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गरेका छन्।

विराटनगरको एकीकृत जाँच चौकीसम्म कार्गो रेल ल्याउने लक्ष्यसहित २०८० साल जेठमा परीक्षणका रूपमा रेल सञ्चालन गरिएको थियो। तर नीतिगत जटिलता र प्रक्रियागत समन्वयको अभावका कारण सेवा नियमित हुन सकेको थिएन।

पछिल्लो समय नेपाल र भारतका सम्बन्धित निकायबीच आवश्यक नीतिगत सहमति भएपछि कोलकाता–विराटनगर रेल ढुवानी सेवा नियमित गर्ने बाटो खुलेको हो। यसलाई पूर्वी नेपालको औद्योगिक क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

प्रकाशित मिति: ११:२६ बजे, मंगलबार, साउन ५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्