Kathmandu Press

टोनी क्रुस भन्छन्– स्पेनले जित्छ विश्कवप उपाधि

स्पेनिस सञ्चारमाध्यम मार्काले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ का विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र समग्र टोलीगत सन्तुलनका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली उपाधिको बलियो दाबेदार रहेको बताएका छन्।
टोनी क्रुस भन्छन्– स्पेनले जित्छ विश्कवप उपाधि

काठमाडाैं, साउन ३ : जर्मनीका पूर्व स्टार मिडफिल्डर टोनी क्रुस ले फिफा विश्वकप २०२६को उपाधि स्पेनले जित्ने भविष्यवाणी गरेका छन्। उनले आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फाइनलमा साविक विजेता अर्जेन्टिनामाथि स्पेन हाबी हुने विश्वास व्यक्त गरेका हुन्।

स्पेनिस सञ्चारमाध्यम मार्काले ट्रिबुना डटकम लाई उद्धृत गर्दै जनाएअनुसार सन् २०१४ का विश्वकप विजेता क्रुसले स्पेनको निरन्तर उत्कृष्ट प्रदर्शन, रणनीतिक अनुशासन र समग्र टोलीगत सन्तुलनका कारण प्रशिक्षक लुइस दे ला फुएन्तेको टोली उपाधिको बलियो दाबेदार रहेको बताएका छन्।

रियल म्याड्रिडमा एक दशक बिताएका क्रुस स्पेनिस फुटबल र वर्तमान टोलीका धेरै खेलाडीसँग परिचित छन्। उनले स्पेनको मिडफिल्ड नियन्त्रण, सन्तुलित टोली संरचना र अनुशासित खेलशैलीलाई प्रतियोगिताको सबैभन्दा प्रभावशाली पक्षका रूपमा उल्लेख गरेका छन्।

स्पेनले यस विश्वकपमा अहिलेसम्म केवल एक गोल मात्र व्यहोरेको छ। टोली पुरुष विश्वकपको एउटै संस्करणमा ६ क्लिनसिट राख्ने पहिलो राष्ट्रसमेत बनेको छ। समूह चरणको पहिलो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि स्पेनले लगातार ६ खेल जित्दै अस्ट्रिया, पोर्चुगल, बेल्जियम र फ्रान्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

स्पेन हाल लगातार ३७ खेलदेखि अपराजित छ। यदि फाइनलमा अर्जेन्टिनालाई पराजित गर्न सके स्पेनले दोस्रो विश्वकप उपाधि जित्नुका साथै युरोपेली पुरुष राष्ट्रिय टोलीको सबैभन्दा लामो अपराजित यात्राको नयाँ कीर्तिमान पनि बनाउनेछ।

यता साविक विजेता अर्जेन्टिना पनि उत्कृष्ट लयमा फाइनलमा पुगेको छ। प्रशिक्षक लियोनेल स्कालोनी को टोलीले सेमिफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फाइनल यात्रा तय गरेको थियो । उक्त खेलमा एन्जो फर्नान्डेजले बराबरी गोल गरेका थिए भने लाउटारो मार्टिनेजले इन्जुरी समयमा विजयी गोल गरेका थिए।

अर्जेन्टिनाले लगातार १४ खेल जित्दै दक्षिण अमेरिकी टोलीको सबैभन्दा लामो लगातार जितको कीर्तिमान बराबरी गरेको छ। टोली सन् १९६२ मा ब्राजिलपछि लगातार दुई विश्वकप जित्ने पहिलो राष्ट्र बन्ने लक्ष्यमा रहेको छ।

यस विश्वकपमा अर्जेन्टिनाले दबाबका क्षणमा उत्कृष्ट पुनरागमन गर्दै फाइनलसम्मको यात्रा तय गरेको छ। नकआउट चरणका चारवटै खेलमा टोलीले अतिरिक्त समय वा ७५औँ मिनेटपछि पुनरागमन गर्दै जित निकालेको छ । प्रतियोगितामा ८५औँ मिनेटपछि सर्वाधिक आठ गोल गर्ने टोली पनि अर्जेन्टिना नै हो।

अर्जेन्टिना र स्पेनबीच हालसम्म १४ खेल भएका छन् । दुवैले ६–६ खेल जितेका छन् भने दुई खेल बराबरीमा सकिएका छन् । विश्वकपमा उनीहरूको एकमात्र भेट सन् १९६६ मा भएको थियो, जहाँ अर्जेन्टिनाले २–१ को जित निकालेको थियो । पछिल्लो भेट भने सन् २०१८ को मैत्रीपूर्ण खेलमा भएको थियो, जसमा स्पेन ६–१ ले विजयी भएको थियो । क्रुसको भविष्यवाणीले विश्वकप फाइनललाई थप रोचक बनाएको छ । यद्यपि, उपाधिको वास्तविक निर्णय भने मैदानभित्रको प्रदर्शनले नै गर्नेछ, जहाँ विश्व फुटबलका दुई सफल राष्ट्रहरु ट्रफीका लागि आमनेसामने हुनेछन् ।

प्रकाशित मिति: १५:४० बजे, आइतबार, साउन ३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्