नवग्रह–पञ्चकन्या मन्दिरमा १०८ पिपल पूजाको विशेष अनुष्ठान
श्रद्धालु भक्तजनले एकै स्थानमा १०८ पिपलको दर्शन, पूजा तथा परिक्रमा गर्दै नवग्रह आराधना गर्न सक्ने व्यवस्था गरिएको पञ्चकन्या मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर क्षेत्रीले बताए ।
काठमाडौं, साउन २९ : हिन्दु धर्मावलम्बीका लागि अत्यन्त पवित्र मानिने साउन महिनाको शनिबार र सोमबार स्याङ्जाको अर्जुनचौपारीमा रहेको नेपालमै पहिलो नवग्रह र पन्चकन्या मन्दिर परिसरमा रहेका १०८ पिपल वृक्षको विशेष पूजा, परिक्रमा र जलअर्पण गर्ने धार्मिक गतिविधि सुरु हुने भएको छ ।
श्रद्धालु भक्तजनले एकै स्थानमा १०८ पिपलको दर्शन, पूजा तथा परिक्रमा गर्दै नवग्रह आराधना गर्न सक्ने व्यवस्था गरिएको पञ्चकन्या मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष पूर्ण बहादुर क्षेत्रीले बताए ।
वैदिक तथा पुराणहरूमा पिपललाई भगवान् विष्णुको स्वरूप तथा भगवान् शिवको प्रिय वृक्षका रूपमा वर्णन गरिएको छ। त्यसैले साउन महिनामा पिपलको पूजा, जलअर्पण र प्रदक्षिणा गर्दा हरि (विष्णु) र हर (शिव) दुवैको कृपा प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। राशि बाटिका, नक्षत्र बाटिका, ग्रह बाटिका पनि दर्शन गर्न पाईने छ ।
विशेषगरी साउनका सोमबार र शनिबार १०८ पिपलको परिक्रमा गर्दै नवग्रह पूजन, दीप प्रज्वलन तथा मन्त्रजप गरेमा ग्रहदोष शान्त हुने, पितृको आशीर्वाद प्राप्त हुने, मानसिक शान्ति बढ्ने तथा परिवारमा सुख, समृद्धि र सकारात्मक ऊर्जाको सञ्चार हुने धार्मिक मान्यता रहेको धर्मगुरुहरू बताउँछन्।
नवग्रह मन्दिर परिसरमा श्रद्धापूर्वक रोपिएका १०८ पिपल वृक्ष पछिल्ला वर्षहरूमा भक्तजनका लागि आध्यात्मिक साधना, ध्यान तथा धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ। साउन महिनामा दैनिक रूपमा सयौँ श्रद्धालु दर्शन, पूजा र परिक्रमाका लागि मन्दिर पुग्ने क्रम बढिरहेको छ। साउने सोमबारका अवसरमा नवग्रहका ९ बटै चक्र समेत खुल्ला हुने हुँदा भक्तजनहरुका लागि नवग्रहको दर्शन बिशेष हुने छ ।
मन्दिर व्यवस्थापन समितिले साउन महिनाभर हुने विशेष पूजा, नवग्रह आराधना तथा १०८ पिपल परिक्रमामा सहभागी भई आफ्नो, परिवार, समाज र सम्पूर्ण सृष्टिको सुख, शान्ति, समृद्धि तथा कल्याणको कामना गर्न सम्पूर्ण शिवभक्त, विष्णुभक्त तथा सनातन धर्मावलम्बी श्रद्धालुहरूलाई नवग्रह मन्दिर दर्शनको लागि आह्वान समेत गरेको छ ।
धार्मिक आस्थाअनुसार १०८ पिपलको प्रदक्षिणा, नवग्रहको आराधना र हरि–हरको स्मरणले जीवनमा शुभफल प्राप्त हुने विश्वासका साथ यस वर्ष पनि साउनभर नवग्रह मन्दिर भक्तजनको प्रमुख आकर्षणको केन्द्र बन्ने पालिकाले विश्वास लिएको छ ।











