कान्समा नेपाली फिल्मले जित्यो ‘जुरी प्राइज’
नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो। शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो।
काठमाडौं, जेठ ९ अविनाशविक्रम शाह निर्देशित नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ ले विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलको अन सर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ जितेको छ।
नेपाली फिल्मले विश्वप्रसिद्ध फेस्टिभलको मञ्चमा यो महत्वपूर्ण पुरस्कार जितेको हो। शाह निर्देशित छोटो फिल्म ‘लोरी’ले यसअघि पनि कान्समा स्पेसल मेन्सन पुरस्कार जितेको थियो।
यस विधाको मुख्य ‘अन सर्टेन रिगार्ड प्राइज’ अस्ट्रियाली निर्देशक सान्द्रा वोल्नरको फिल्म ‘एभ्रिटाइम’ले जित्यो। ‘स्पेशल जुरी प्राइज’ फ्रान्सेली निर्देशक लुइस क्लिसीको फिल्म ‘आइरन ब्वाय’लाई प्रदान गरियो।

उत्कृष्ट अभिनेतातर्फ ‘कंगो ब्वाय’का अभिनेता ब्राड्ली फियोमोना डेम्बेआसेट पुरस्कृत भए। उक्त फिल्मका निर्देशक राफिकी फारियाला हुन्।
उत्कृष्ट अभिनेत्रीको पुरस्कार ‘सिएम्प्रे सोय तु एनिमल मातेर्नो’का कलाकार मरिना डे टाभिरा, डानिएला मारिन नाभारो र मारिएन्जेल भिलेगासलाई संयुक्त रूपमा प्रदान गरिएको हो। फिल्मको निर्देशन भालेन्टिना माउरेलले गरेकी हुन्।
यसवर्षको कान्स फेस्टिभल आज सकिँदैछ र सोही क्रममा मुख्य विधाको विजेता समेत घोषणा हुनेछ।












