एक हजार पाँच सय ४८ सवारी साधनमा ‘ह्वील लक’
काठमाडौं, फागुन २७ : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार पाँच सय ४८ सवारी साधनलाई ‘ह्वील लक’ लगाएको छ....

काठमाडौं, फागुन २७ : ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार पाँच सय ४८ सवारी साधनलाई ‘ह्वील लक’ लगाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङलाई निरुत्साहित गर्न ‘ह्वील लक’ लगाएको जनाएको छ । महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्तले अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाहीअन्तर्गत ‘ह्वील लक’ लगाएको बताए । ‘बाटोमा जथाभावी पार्किङ गरेर हिँड्ने सवारी साधनलाई ह्वील लक लगाएर कारबाही गरेका हौं,’ उनले भने ।
मंसिर ८ गतेदेखि शुरु गरिएको यो अभियानमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारी साधनलाई ‘ह्वील लक’ लगाएर कारवाही गरिँदै आएको हो । महाशाखाले सडकलाई अवरोध पु¥याउने गरेर जथाभावी रुपमा पार्किङ गर्ने सवारी साधनलाई ह्वील लकसँगै पाँच सयदेखि एक हजार रुपैयाँसम्म जरिवना गर्दै आएको छ ।
ट्राफिक प्रहरीले ‘ह्वील लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारवाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टीकर’ चालकतर्फको झ्यालमा टाँस्ने गरेको छ ।
महाशाखाका अनुसार ‘ह्वील लक’ खुलाउन ‘स्टीकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्ने व्यवस्थासमेत गरेको छ ।
यस्तै महाशाखाले लेन अनुशासन कारवाही, मादकपदार्थ सेवन (मापसे) कारवाही, सिसीटिभी कारवाही, गोप्रो बडिवान क्यामरालगायतका कारवाही गर्दै आएको छ । (रासस)











