Kathmandu Press

रवीन्द्रलाई शुभयात्रा भन्न नपाएको त्यो दिन

चिप्लेढुङ्गा, फागुन २७ : ‘म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश....

रवीन्द्रलाई शुभयात्रा भन्न नपाएको त्यो दिन

चिप्लेढुङ्गा, फागुन २७ : ‘म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थेँ, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ ।’

तत्कालीन पर्यटनमन्त्री तथा नेकपाका नेता रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईले भनेका वाक्य हुन् । रवीन्द्रको निधन भएको १३औं दिन भयो । उनले रवीन्द्र पाथीभरा गएको दिन सम्झिदै भनिन्,  ‘जत्ति हतार नै भए पनि जाने बेला जानकारी गराएर जानुहुन्थ्यो । मैले त्यही दिन शुभयात्रा भन्न पाइन । घटना त्यही दिन भयो, आज पनि मनमा त्यही कुरा आइरहन्छ ।’ उनले परिस्थितिलाई स्वीकार्नुको विकल्प नभएको बताउँदै आफू आघातमा परेको सुनाइन् ।

राजनीतिक व्यक्तित्व भएकाले आफूलाई उनले समय नदिएको भन्ने गुनासो पनि छैन, विद्यासँग । दुवै जना काममा भएकाले आफूहरुबीच एक प्रकारको समझदारी भएको बताउँदै कुनै बेलाकी विद्यार्थी नेत्री विद्याले भनिन्, ‘एक अर्काप्रतिको सम्मान र माया थियो । श्रीमान र श्रीमती भन्दै जुनसुकै बेला पनि हामी कुरा शेयर गर्दैनथ्यौँ । एक अर्काका अवस्था र अनुहारलाई पढेर आफ्नो कुरा राख्ने गथ्र्यौं । अन्तिम समयसम्म उहाँले मलाई तपाईँ नै भनेर सम्बोधन गर्नुभयो । मन्त्री भएपछि मात्रै उहाँसँग अलि बढी सँगै बस्ने अवसर मिलेको थियो ।’

जीवनमा पहिलो पल्ट आफूलाई एकदम नराम्रो लागेको वाइड बडी जहाज काण्डका विषयमा आएका समाचारलाई लिएर हुन् । यस विषयमा धेरैपछि आफूले सोध्दा रवीन्द्रले दिएको उत्तर सुनाइन, ‘सिष्टमबाट अन्तिम किस्ता गयो, नगएको भए जहाज आउँदैनथ्यो । मेरो कुनै संलग्नता छैन विद्या । चिन्ता लिनुपर्दैन । यो सबै वायुसेवा निगमलाई डुबाउने खेल हो । निजी कम्पनीहरुबाट यो खेल शुरु भएको छ । मलाई सिध्याउने खेल हो तर म जिरोबाट पनि आउन सक्छु । यो सबै राजनीतिका लागि बनाइएको एजेण्डा हो । म गलत छैन ।’

आफू जुन कुरामा खुशी हुन सकिन्छ त्यसमा रमाउनुपर्छ भन्ने मान्यता राख्ने रवीन्द्रले आफूलाई कुनै पनि कुरामा दवाव नदिएको र आफू अब्बल हुनुपर्छ भन्ने मान्यता राखेको विद्याले बताइन् । ‘राजनीतिमा महिलाको आगमन र अस्तित्वलाई अझै पनि सहज स्वीकारेको पाइँदैन । अहिले म पीडामा नै छु, राजनीतिमा जाने नजाने बारे सोच बनाएकी छैन तर उहाँको सपना पूरा गर्ने दायित्वबाट म अलग हुन मिल्दैन,’ विद्याले भनिन् ।

सामाजिक सञ्जालभरि घटना भएको केही घण्टाभित्रै अधिकारीकी श्रीमती विद्याको मन रुवाउने कविता भनेर सार्वजनिक गरिएको भिडियोप्रति भट्टराईले आपत्ति जनाइन् ।  ‘घटना भएको केही घण्टामा नै मेरो नामको कविता र स्वर भन्दै युट्युब र सामाजिक सञ्जालमा राखिएको रहेछ । त्यति छिटो त्यो अवस्थामा म कसरी कविता लेखेर वाचन गर्न सक्छु ?,’ विद्याले भनिन्, ‘धेरैले मैले नै हो भनेर सोच्नुभएको रहेछ । भेट्न आउनेले पनि सोध्नुभयो । मप्रति सहानुभूति राखेर पीडाको व्यापार जसले गर्नुभयो, त्यो राम्रो भएन । यसले मलाई झनै दुःखी बनाएको छ । यसले भ्रम छर्ने काम भएको छ । को हो त्यो पत्ता लगाउने प्रयास भैरहेको छ ।’ (रासस)

प्रकाशित मिति: ११:५७ बजे, सोमबार, फागुन २७, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्