Kathmandu Press

नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि

बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ। नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।
नेप्सेमा झिनो गिरावट, कारोबार रकम भने पौने ८ अर्ब माथि

काठमाडौं, वैशाख ९ : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार सामान्य अंकले घटेर बन्द भएको छ । पछिल्लो दुई कारोबार दिनदेखि घटिरहेको बजारले बुधबार पनि सोही लयलाई निरन्तरता दिएको हो।

बुधबार नेप्से परिसूचक २.९५ अंकले घटेर २८०४.१७ विन्दुमा झरेको छ। नेप्से घटे पनि सेन्सेटिभ इण्डेक्स भने ०.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स स्थिर रहेको छ।

Hardik ivf

परिसूचकमा सामान्य गिरावट आएपनि कारोबार रकममा भने उल्लेख्य सुधार देखिएको छ। मंगलबार ५ अर्ब ७७ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब ८१ करोड ३९ लाख ४७ हजार रुपैयाँमा खरिदबिक्री भएको छ। यस दिन कुल १ लाख २१ हजार ४३३ पटक कारोबार भएको थियो।

आज बजार घटे पनि तीनवटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो। यस्तै, झापा इनर्जीको शेयर मूल्य १४ प्रतिशत र गणपति लघुवित्तको मूल्य ९ प्रतिशतले बढेको छ।

यता, होटल फरेष्ट इनको शेयर मूल्य भने १०.७५ प्रतिशतले घटेर सर्वाधिक गुमाउने कम्पनीको सूचीमा परेको छ।

यसदिन कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ४१ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे ३२ करोड र सोलु हाइड्रोपावरको साढे ३१ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

यसदिन कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको परिसूचक बढेको छ भने ८ वटाको घटेको छ। बैंकिङ्ग, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहमा सामान्य वृद्धि देखिएको छ। होटल तथा पर्यटन उपसमूह भने सर्वाधिक २.३६ प्रतिशतले घटेको छ भने व्यापार उपसमूह १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।

प्रकाशित मिति: १६:५३ बजे, बुधबार, वैशाख ९, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्