७७औँ स्थापना दिवसमा खनालको सन्देश– गल्ती सच्याउँदै आन्दोलन पुनर्निर्माण गरौँ
यही असन्तोषका कारण ठुलो सङ्ख्यामा जनता बिदेसिन बाध्य भएका छन् भने त्यसैको फाइदा उठाउँदै विभिन्न शक्तिहरूले आन्दोलनलाई दिशाहीन बनाएको आरोप खनालले लगाए।
काठमाडौं, वैशाख ९ : पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झालनाथ खनालले नेपाली कम्युनिष्ट आन्दोलनको ७७औँ स्थापना दिवसको सन्दर्भमा पार्टी र आन्दोलनलाई पुनर्गठन गर्न आह्वान गरेका छन्।
स्थापना दिवसको सन्दर्भमा एक विज्ञप्ति जारी गर्दै खनालले ७७ वर्ष लामो सङ्घर्षपछि देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए पनि सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, प्रशासन र संस्कृतिमा अपेक्षित परिवर्तन हुन नसकेको बताए।
जनताका आधारभूत आवश्यकता गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारी र सुरक्षा सम्बोधन हुन नसक्दा व्यापक असन्तोष चुलिएको उनको भनाइ छ।
यही असन्तोषका कारण ठुलो सङ्ख्यामा जनता बिदेसिन बाध्य भएका छन् भने त्यसैको फाइदा उठाउँदै विभिन्न शक्तिहरूले आन्दोलनलाई दिशाहीन बनाएको आरोप खनालले लगाए। उनले हालको राजनीतिक अवस्थालाई गम्भीर रूपमा समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याए।
उनले विशेष गरी २०७४ को निर्वाचनमा उल्लेखनीय सफलता हासिल गरेको वामपन्थी शक्ति २०८२ को निर्वाचनमा उल्लेख्य रूपमा खुम्चिनु गम्भीर चिन्ताको विषय भएको बताए । यसका कारणहरूबारे गहिरो विश्लेषण नगरी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन नसकिने उनको निष्कर्ष छ।
खनालले नेताहरूले कार्यकर्तामाथि दोष थोपर्ने प्रवृत्ति त्यागेर आफ्नै कमजोरी पहिचान गर्नुपर्नेमा जोड दिए । उनले आत्मालोचना गर्दै जनतासमक्ष प्रतिबद्धता जनाउन र पार्टीलाई वैचारिक, राजनीतिक, सङ्गठनात्मक तथा कार्यशैलीगत रूपमा रूपान्तरण गर्न आग्रह गरे।
उनले बदलिएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भमा नयाँ रणनीति तय गर्दै पार्टीलाई पुनर्गठन गर्नुपर्ने बताएका छन् । चुनौतीहरूका बिच अवसरहरू पनि प्रशस्त रहेको उल्लेख गर्दै उनले समाजवादको यात्रा अवरुद्ध नहुने विश्वास व्यक्त गरे।
खनालले वर्तमान परिस्थिति अस्थायी भएको उल्लेख गर्दै समाजवादी लक्ष्य अन्ततः हासिल हुने दाबी गरे । उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने लक्ष्य प्राप्ति सम्भव रहेको भन्दै सम्पूर्ण कम्युनिष्ट शक्तिलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्।












