Kathmandu Press

स्वतन्त्र मधेश गठबन्धन सम्झौता पालनमा प्रतिबद्ध

काठमाडौं, फागुन २७ : सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सेक्रेटरी एवम् सहजकर्ता चन्दन सिंहले काठमाडौंमा मूलधारका राजनीतिक दलभित्रबाट सम्झौता....

स्वतन्त्र मधेश गठबन्धन सम्झौता पालनमा प्रतिबद्ध

काठमाडौं, फागुन २७ : सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनका सेक्रेटरी एवम् सहजकर्ता चन्दन सिंहले काठमाडौंमा मूलधारका राजनीतिक दलभित्रबाट सम्झौतामा धोका भएको भन्दै गरिएको प्रचारवाजीलाई ‘गलत राजनीति’ को संज्ञा दिएका छन् । उनले भने, ‘सम्झौतामा सरकार वा अरु कसैले कहीँ कतै शंका गर्नु पर्दैन । हामीबाट पूर्ण रुपमा पालना हुन्छ ।’

जनकपुर पुगेका सिंहले ‘स्वतन्त्र मधेश गठबन्धन’ आफ्नो पार्टीको नाम भएकाले पार्टी कार्यकर्ताले त्यसको ब्यानर र झण्डा मात्र प्रयोग गरिनुलाई विखण्डनकारी गतिविधि भनेर प्रचार नगर्न पनि आग्रह गरे । पार्टीको झण्डासहित आफ्ना कार्यकता अध्यक्षलाई स्वागत गर्न आएकोलाई गलत प्रचारवाजी गर्न नहुने उनको भनाइ छ ।

काठमाडौंप्रेस सँग टेलिफोनमा कुरा गर्दै उनले भने, ‘हाम्रो पार्टीको नाम स्वतन्त्र मधेश गठबन्धन हो । झण्डा पनि त्यही छ । अब केन्द्रीय कमिटीको बैठक बस्ने तयारीमा छौं । जनअभिमत भनेको के हो भन्नेबारे पनि हामी बैठकपछि विस्तृत रूपमा धारणा सार्वजनिक गर्छौं ।’

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि सबै कुरा प्रष्ट भएकाले साथीभाइबाट भएका गलत टिप्पणीको अर्थ नहुने बताए । सम्झौताको एक, दुई र ६ नम्बर बुँदा उल्लेख गर्दै नेम्वाङले सबै कुरा त्यहीँ प्रष्ट रहेको बताए । उनले स्वतन्त्र मधेश गठबन्धनले पनि त्यसलाई उल्लंघन नगरेको बताए । नेम्वाङले भने, ‘पहिलो बुँदामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल एक स्वतन्त्र, स्वाधीन, सार्वभौमसत्ता सम्पन्न अविभज्य राष्ट्र हो । नेपाल राष्ट्रको स्वतन्त्रता, स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो’ उल्लेख छ । यतिले सबै कुरा प्रष्ट हुँदैन र ?’

सीके रावतले ‘राजनीतिक, सामाजिक, आर्थिक लगायतका उद्देश्यहरु प्राप्तिका निम्ति शान्तिपूर्ण र लोकतान्त्रिक बाटोबाट अघि बढ्नुपर्छ भन्नेमा हामी दृढ छौं’ भनेर प्रतिबद्धता दोहोर्.याएको उल्लेख गर्दै उनले दुई नम्बरकै पछिल्लो बुँदा उल्लेख गरे, ‘नेपालको संविधानमा प्रयुक्त जनतामा निहीत सार्वभौम अधिकारको प्रयोग गर्दै तराइ–मधेशलगायत देशका विभिन्न स्थानमा रहेका असन्तुष्टिहरुलाई जनअभिमतमा आधारित लोकतान्त्रिक विधिबाट समाधान गर्न सहमत भएका छौं ।’

जनकपुर विमानस्थलमा स्वतन्त्र मधेश गठबन्धनको झण्डा र व्यानर प्रयोग सम्झौताको बुँदा नम्बर ६ अनुरुप भएको उनले बताए । बुँदा नम्बर ६ मा उल्लेख छ, ‘स्वतन्त्र मधेश गठबन्धन तथा यसका नेता कार्यकर्ताद्वारा यसअघि तयार पारिएका र पहिले प्रचलनमा रहेका किताब, पर्चा, पम्पलेट, घोषणापत्र, गीत, नक्सा, नारा, झण्डा, अनलाईन सामग्री आदिलाई भविष्यमा कारवाहीको विषय बनाइने छैन । आगामी दिनमा संविधानको व्यवस्था र यस सहमति प्रतिकूलका प्रचार सामग्रीहरु उत्पादन र वितरण गरिने छैन ।’

 

प्रकाशित मिति: ११:५३ बजे, सोमबार, फागुन २७, २०७५