Kathmandu Press

रुकुम पश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन

काठमाडौं, जेठ १३ : नेपाल युवा सञ्लाल (आयोन)ले रुकुम पश्चिममा अन्तरजातीय विहे गर्नेक्रममा स्थानीयको कुटपिटबाट तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घ....

रुकुम पश्चिम घटना मानवताविरोधी जघन्य अपराध : आयोन

काठमाडौं, जेठ १३ : नेपाल युवा सञ्लाल (आयोन)ले रुकुम पश्चिममा अन्तरजातीय विहे गर्नेक्रममा स्थानीयको कुटपिटबाट तीन जनाको मृत्यु र तीन जना बेपत्ता भएको घटनालाई मानवताविरोधी जघन्य अपराधको संज्ञा दिएको छ।

जाजरकोटका नवराज विश्वकर्मा र रुकुम पश्चिमको चौरजहारी नगरपालिका८ सोतीकी मल्ल थरकी युवतीबीच अन्तरजातीय विवाह गर्ने क्रममा स्थानीयको निर्घात कुटपिटबाट तीन जनाको ज्यान गएको र अझै तीन जना बेपत्ता भएको घटनाले कानुन र मानवताकै हत्या भएको आयोनको टिप्पणि छ।

नवराज र ति युवतीबीच तीन वर्षदेखि प्रेमसम्बन्ध रहेको र युवतीकै आग्रहअनुसार शनिबार उनी साथीहरु लिएर सोती पुगेको जनाइएको छ। बिहे हुने क्रममा स्थानीयले केटा पक्षमाथि सांघातिक हमला गरेको र ज्यान जोगाउन भाग्ने क्रममा नजिकै रहेको भेरी नदीमा हाम फालेका युवाहरुमध्ये नवराज विश्वकर्मा, टीकाराम नेपाली र गणेश बुढामगरको शव भेटिएको स्थानीय प्रशासनले जनाएको छ।

‘मुलुक जातीय विभेद र छुवाछुत मुक्त घोषणा भएको दशकौं बितिसक्दा र संविधानमै जातीय विभेदलाई दण्डनीय अपराधका रुपमा परिभाषित गर्दा पनि आजको समयमा अन्तरजातीय विहे गरेकै कारण ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनुले कानुनको धज्जी त उडाएको छ नै, सँगसँगै हामीले कस्तो समाजको निर्माण गरिरहेका छौं भन्ने गम्भीर प्रश्न पनि उब्जिएको छ,’ आयोनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यो घटनाले जातीय विभेदलाई पनि उदांगो पारेको छ। यो मानवताविरोधी जघन्य अपराध हो।’

आयोनका अध्यक्ष जगदीश ऐरले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाबारे गहिरो अनुसन्धान गरी संविधान र विद्यमान कानुन बमोजिम घटनामा संलग्नहरुलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्। उनले पीडितलाई न्याय, क्षतिपूर्ति र सामाजिक सुरक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

आयोनले तीनै तहका सरकार (स्थानीय, प्रदेश र संघीय)लाई जातीय विभेदविरुद्धका सबै घटनामा निर्मम रुपमा प्रस्तुत हुन र देशव्यापी सामाजिक सचेतामुलक अभियान सञ्चालन गर्न पनि अपिल गरेको छ। आयोन युवाहरुले नेतृत्व गरेका देशभरका ९० भन्दा बढी सामाजिक संघसंस्थाहरुको छाता संगठन हो।

प्रकाशित मिति: ०९:५५ बजे, मंगलबार, जेठ १३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्