प्रधानमन्त्रीले भने झै ६ लाखको कोरोना परीक्षण गर्न कम्तिमा ६ महिना लाग्ने
काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने बत....

काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै देशको कुल जनसंख्याको दुई प्रतिशतको कोरोना परीक्षण गर्ने बताए।
तर, अहिलेकै गतिमा कोरोना परीक्षण भए कुल जनसंख्याको दुई प्रतिशत अर्थात ६ लाख मानिसको कोरोना परीक्षण गर्न कम्तिमा पनि ६ महिना लाग्ने देखिएको छ। नेपालको कुल जनसंख्या ३ करोडको दुई प्रतिशतले कम्तिमा पनि ६ लाख मानिसको कोरोना परीक्षण गर्ने योजना प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा सुनाए।
अहिले सबैभन्दा धेरै आइतबार तीन हजारको पीसीआर प्रविधिबाट परीक्षण गरिएको छ। पछिल्लो दुई महिनामा ५१ हजारको पीसीआर परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबार २ हजार ९ सय ४ जनाको पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ। यो पछिल्लो समय सबैभन्दा धेरै परीक्षण गरिएको दिन हो। यही रफ्तारमा परीक्षण हुने हो भने पनि ६ लाखको परीक्षण गर्न ६ महिना बढी समय लाग्छ।
यद्यपी सोमबारसम्म ५१ हजार ६ सय ४२ जनाको कोरोना परीक्षण भएको छ। यो भनेको पहिलो संक्रमित भेटिएको मिति (माघ १०) देखि सोमबारसम्म अर्थात चार महिनाको तथ्यांक हो। प्रधानमन्त्री ओलीले परीक्षणको दायरालाई विस्तार गर्न किट तथा औषधिको प्रबन्ध द्रूत गतिमा गरी यसलाई यथाशीघ्र अझै उन्नत बनाइने र विज्ञहरुले दिएको सल्लाह बमोजिम कम्तिमा जनसंख्याको दुई प्रतिशतसम्म परीक्षण विस्तार गर्ने योजनामा सरकार रहेको बताएका छन्।
तर, पहिलो संक्रमित देखिएको लामो समयसम्म परीक्षण सुस्त हुनु र परीक्षण किट, पीपीई, भेन्टिलेटर लगायतका अत्यावश्यक सामग्री खरिदमा गरिएको ढिला सुस्ती र अनियमितताले परीक्षणको दायरा अहिले नै दोब्बर हुने स्थिति देखिँदैन। किनकि पीसीआर प्रविधिबाट कोरोना परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाँडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम)को मौज्दात सकिँदै गएको छ।
पछिल्लो समय परीक्षणको दायरा केही बढाइएको छ। तर, भारतसँग सीमा जोडिएका स्थानीय तहमा भारतबाट आउने मानिसहरुको चाप बढेको छ। क्वारेन्टाइनमा राखिएकाको पीसीआर विधिबाट परीक्षण गर्न सोर्सफोर्स लगाउनु परिरहेको गुनासो समेत गरिरहेका छन्।
मन्त्रालयको लक्ष्य पाँच हजार संक्रमित
मन्त्रालयले पाँच हजार संक्रमितलाई लक्षित गरेर औषधिको व्यवस्थापन गरेको छ। स्वास्थ्य विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा. भोगेन्द्रराज डोटेलले पाँच हजारलाई लक्षित गरेर औषधि व्यवस्थापन गरिएको बताए।
उनले शुरुमा एक हजार ५०० संक्रमित हुने अनुमान गरेको थियो। सरकारले अहिलेसम्म ९२ करोडको स्वास्थ्य सामग्री ल्याइसकेको र थप ६६ करोडको सामग्री ल्याउने प्रक्रियामा रहेको छ।
मन्त्रालयसँग रहेका एक लाख भीटीएममध्ये ८८ हजार जिल्लामा पठाइएको र मन्त्रालयसँग १२ हजारमात्रै मौज्दात रहेको मन्त्रालयले जनाएको छ। यस्तै, १ लाख २८ हजार पीसीआर किटमध्ये ७८ हजार विभिन्न जिल्लामा पठाइएको र ५० हजारमात्रै मन्त्रालयसँग छ।
मन्त्रालयले दुई लाख पाँच हजार भीटीएम खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ। मन्त्रालयले थप एक लाख ७५ हजार पीसीआर किट खरिद प्रक्रिया अगाडि बढाएको छ।











