कार्यालय जाँदा यसरी कम गर्न सकिन्छ कोरोना संक्रमणको जोखिम
काठमाडौं, जेठ १२ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले केही सावधानी अपनाउँदा....

काठमाडौं, जेठ १२ : स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत बन्दाबन्दीका समयमा पनि नियमित कार्यस्थलमा खटिनुपर्ने व्यक्तिले केही सावधानी अपनाउँदा कोरोना भाइरसबाट बच्न सकिनेछ।
घरबाट कार्यालय र कार्यालयबाट फिल्डमा जाँदा आवश्यक स्वास्थ्य सावधानी अपनाउँदा यो रोगको जोखिम असाध्यै कम हुने जनस्वास्थ्य विज्ञले बताएका छन्। मास्क, पञ्जा, चस्मालगायतको उचित प्रयोग गरेमा रोग लाग्ने सम्भावना कम गर्न सकिने जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले बताए। कार्यस्थलमा जानु पहिले राम्रोसँग मास्क र चस्मा लगाउन उनले सुझाव दिए।
माक्स बाहिरबाट हावा नपस्नेगरी लगाउनुपर्छ। आँखाका माध्यमबाट पनि भाइरस सर्ने हुँदा आफूसँग भएकै आँखा ढाकिने चस्मा प्रयोग गर्न सकिन्छ। उनले भने, “कतिपय व्यक्तिले घाँटीमा त कतिले नाक नै नछोपिनेगरी लगाएको पाइन्छ, तर सुरक्षाका लागि यसको सही प्रयोग गर्न खाँचो छ।”
कार्यालय जाँदा गोजीमा सेनिटाइजर बोकेर हिँड्न उहाँले सबैलाई सल्लाह दिए। सम्भव भएसम्म हात धुने र साबुनपानी उपलब्ध नभएका स्थानमा सेनिटाइजर प्रयोग गरेर पनि हातमा भएका संक्रमण नष्ट गर्न सकिन्छ। पञ्जाको प्रयोग गर्दा हातबाट नाक वा मुखसम्म संक्रमण फैलन पाउँदैन।
कार्यालय वा फिल्डमा पनि सामाजिक दूरी कायम गर्दा जोखिम कम हुने डा पाण्डेले बताए। कुनै पनि व्यक्तिसँग ६ फिटको दूरी कायम राख्नुपर्छ। कतिपय अवस्थामा कामका लागि नजिक जानुपर्दा लामो समयसम्म नजिक नबस्न उनको सुझाव छ। उनले भने, “कुनै पनि व्यक्तिको नजिक कतिबेर बस्यो भन्ने कुराले पनि अर्थ राख्छ, नजिक बस्नैपर्दा पनि जति छोटो समयका लागि बस्यो त्यति राम्रो हुन्छ ।”
कार्यालयमा कामका सिलसिलामा किताब, कापी, टेबुल, कुर्सीलगायतका सामग्री पनि पटक पटक छुइने गरेको छ। यसले मानिसबाट मानिसमा जसरी सजिलै नसर्ने पनि उनले बताए। कार्यालयकै कर्मचारीले पनि आपसमा दूरी कायम गरेर काम गर्दा जोखिम कम हुने उनको भनाइ छ। उनले भने, “मानिसहरु भेट्नुपर्दा कसरी दूरी कायम गर्ने भन्ने तय गर्न खाँचो छ।”
हामीमध्ये अधिकांशको पटक पटक हात, नाक, मुख, आँखालगायतका अङ्गमा लैजाने बानी हुन्छ। एउटा व्यक्तिले औसत दिनको ९० पटक हात अनुहारमा लैजाने बताइन्छ। कोभिड–१९ विश्वबाटै हराउने समय लाग्ने विश्व स्वास्थ्य संठनले बताइरहँदा हामीले यीलगायतका व्यवहारमा परिवर्तन ल्याउन खाँचो छ। मास्क लामो समयसम्म लगाउँदा चिलाए पनि त्यसलाई जुनसुकै समयमा हातले छुन नहुने उनले बताए। उनले भने, “चिलाउँदा पनि सहनुपर्छ हातमा संक्रमण हुनसक्ने भएकाले झिक्ने वा चिलाउने गर्नु हुँदैन।”
कार्यालयमा हुँदा पनि पटक पटक साबुनपानीले हात धोएर हातलाई संक्रमणमुक्त गर्न सकिन्छ। खानेकुरा खानु पहिले उपलब्ध भएसम्म हात धोएर खानुपर्ने डा पाण्डेको सुझाव छ। साबुन र पानी उपलब्ध नहुने ठाउँमा हातमा सेनिटाइजर लगाएर चम्चाले खान सकिन्छ। अहिलेसम्म नेपाल र विश्वमा हेर्दा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई कोभिड–१९ ले आक्रमण गरेको पाइएको छ। आमनागरिकसँगै बन्दाबन्दीका समयमा काम गर्नुपर्ने पेशाका व्यक्तिले पनि पोषिलो खाना र व्यायाममा ध्यान दिनुपर्ने उनको सुझाव छ।
कार्यालय आउन÷जानका लागि प्रयोग गर्ने सवारी साधनमा सावधानी अपनाउँदा पनि संक्रमणको जोखिम कम गर्न सकिन्छ। अहिले सडकमा जाम नहुने भएकाले कुनै एउटा सवारीमा हिँडेको व्यक्ति सडकमा अरुसँग नजिक हुने सम्भावना कम छ। यो समयमा आफ्नो मोटरसाइकल र स्कुटरमा हिँड्न त्यति डर नहुने उनले बताए।
कार्यालयका गाडी, एम्बुलेन्सलगायत सवारी साधनलाई पनि हरेकपटक प्रयोग गरेपछि निसंक्रमित बनाउनुपर्छ। बिहान साबुनपानीले पखाल्ने र सोडियम पानीले सफा गर्न सकिन्छ। यस्तो समयमा कार्यालयको सवारी साधन असाध्यै जरुरी भएका व्यक्तिमात्रै चढ्दा अत्यावश्यक व्यक्तिलाई समेत जोखिम कम हुन्छ। सवारी चालकले पनि आवश्यक स्वास्थ्य सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने उनको सुझाव छ। उनले भने, “चालकले मास्क, चस्मा र पञ्जा प्रयोग गरेर आफू पनि सुरक्षित हुन र अरुलाई पनि सुरक्षित गर्न सक्छ।”
कार्यालयबाट घर फर्किएपछि हात खुट्टा धुने र लगाएका सबै कपडा धोएर घाममा सुकाउनुपर्ने उनको सुझाव छ। अहिले कतिपय डाक्टर, नर्स, कर्मचारीलगायत फ्रन्टलाइनमा बसेर काम गरिरहेकाहरु घरमै सेल्फ क्वारेन्टाइन बसिरहेका छन्। आफू बाहिर काम गर्ने व्यक्तिले आफूबाट परिवारको सदस्यमा संक्रमण नफैलियोस् भनी सजग हुनुपर्ने उनको सुझाव छ । परिवारमा ज्येष्ठ नागरिक र दीर्घरोगी छन् भने उनीहरुको सम्पर्कमा आउनुहुँदैन। उनले भने, “घरमा बिरामी, रोगी हुनुहुन्छ भने उनीहरुको सम्पर्कबाट टाढा बस्नुपर्छ, घरभित्र पनि दूरी कायम गरेर बस्नुपर्छ।”
–––











