भारतमा अलपत्र परेका भन्छन् - आधा पेट खाएर बाँचेका छौं, हाम्रो उद्धार होस्
जाजरकोट, जेठ १२ : 'एउटा कोठामा १२ जना छौं, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका ....

जाजरकोट, जेठ १२ : 'एउटा कोठामा १२ जना छौं, दैनिक एक छाक खाना खाएर भोको पेटमा बन्द कोठाभित्र बस्नुपर्ने बाध्यता छ, आँसु चुहाउँदै बसेका छौं। हाम्रा कुरा सुनिदिने को छ र?' यो भनाइ हो, जाजरकोट छेडागाड नगरपालिका–१२ का बिर्खबहादुर खत्रीको।
उनी अहिले जनपद चमौली उत्तरखण्ड धराली भारतमा छन्। आफूहरुको गुहार सुन्ने कोही नभएको भन्दै खत्रीले टेलिफोनमार्फत सुनाए। '४७ जना गाउँले तीनवटा कोठामा बन्दी जीवन बताइरहेको छौं,' अर्का देवबहादुर बस्नेतले रुँदै भने,'बाहिर आए भारतीय प्रहरीले लाठीले हिर्काउँछ, कोठामा खाने खाद्यान्न सकिएको छ।' '४१ दिनसम्म कमाएको पैसा सबै खाएर सकियो, राहत कसैले दिँदैन कसरी बाँच्ने हामीलाई उद्धार गर्नुपर्याे,' उनले भने।
पीडा र बेदनाका बीचमा कामविहीन भएका ४७ जना छेडागाड नगरपालिकाका नागरिक रुँदै कराउँदै उद्धारका लागि याचना गरिरहेका छन्। दैनिक घर परिवारले फोनमा कुरा गर्दा कस्तो छ? के छ? भनी सोध्दा, सधैँ ढाँटेर हामीलाई राम्रो छ। चिन्ता नलिनु भन्दै आश्वस्त पार्ने काम गरिरहेको समेत सिंर्गे कामीले बताए। 'घरमा ऋण थियो, तिर्नका लागि सुत्केरी श्रीमतीलाई छाडेर कालापार आइयो, यहाँ पनि मरिन्छ कि, बाँचिन्छ थाहा छैन,' कामीले भने। गरिबलाई जहाँ आए पनि पीडा र दुःखमात्र हुँदोरहेछ, कतै कोरोना लागेर हामी पनि कुकुर मरेझैँ हुन्छौँ कि भन्ने चिन्ता लाग्छ, उनले भने।
अभाव र बाध्यताको बीचमा हुर्किएको कर्म जहाँ गए पनि ठक्करमात्र खान्छ कुनै बेला मरिहालौं कि जस्तो पनि लाग्छ तर घरमा सानो छोरीलाई आँखा अगाडि झलझल सम्झिन्छु, अनि बाँच्न मन लाग्छ तुलवीर चदाराले फोनमा रुँदै भने। हामीलाई सरकारले छिटो उद्धार गर्नुपर्र्यो, हाम्रो एउटै सपना अब घर पुगेर आफ्नै भूमिमा इलम गरेर खाने हो चदाराले भने। दैनिक घरपरिवारसँग ढाँटेर कति दिन अर्काको भूमिमा बस्ने? नेपालमा परिवार चिन्तामा छन्, यता हामी चिन्तामा छौँ मनबहादुर लुहारले भने।
सरकारसम्म हाम्रा कुरा सुनाएर उद्धार गर्ने वातारण सिर्जना गर्नसमेत उनीहरुको आग्रह गरेका छन्। हिँडेर पनि आउन सक्ने अवस्था नहुँदा आफूहरु त्यहाँ बस्न बाध्य भएको उनीहरुले बताएका छन्। पहिलेको जस्तो राम्रो व्यवहार भारतीयको आजभोलि नभएको समेत उनीहरुले बताएका छन्।
जाजरकोटबाट मात्र प्रत्येक वर्ष कमाइका लागि भारतका विभिन्न ठाउँमा सयौँ मानिस जाने गर्छन्।
गाउँमा रोजगारीको सम्भावना नभएपछि भारत पुगेको सयौँ सर्वसाधारण लकडाउनका कारण कमाएको जति खाँदा भाडासमेत नपाएर अलपत्र परेको बताउँछन्। रोजगारीका लागि ४०० भन्दा बढी जाजरकोटवासी भारतलगायत मुलुकमा पुगेको तथ्यांक रहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए।
यता संघीय सरकारका वन तथा वातारणमन्त्री शक्तिबहादुर बस्नेतलाई अलपत्र परेका नागरिकलाई उद्धार तथा समन्वय गर्न जिम्मेवारी दिइएको छ। अहिले जिल्लामा आएका सबैलाई क्वारेन्टाइनमा राखेर कोरोना जाँचको तयारी रहेको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार जेठ १ गतेदेखि शनिबारसम्म बबई नाका भएर भारतबाट चार हजार ३३६ जना कर्णालीका विभिन्न जिल्लामा प्रवेश गरेका छन्। सबैभन्दा बढी दैलेखका दुई हजार २४४ जना आएका छन्। सुर्खेतका ९१४, सल्यानका ७२०, जाजरकोटका १२४, कालीकोटका १२३, रुकुम पश्चिमका १०८, जुम्लाका ५० र मुगुका ४५ जना नेपाल भित्रिएको कार्यालयको तथ्यांकमा उल्लेख छ।
अझै भारतबाट करिब २५ हजार व्यक्ति फर्किने अनुमानसहित सुरक्षा र व्यवस्थापनको तयारी गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए।
दैलेखमा अहिले एक हजार ७९ जनामात्र क्वारेन्टाइनमा बसिरहेका छन्। सुर्खेतका स्थानीय तहका क्वारेन्टाइनमा ८०० र प्रादेशिक क्वारेन्टाइनमा ७८ जना बसेका छन्। सल्यानमा ७२० भारतबाट आएका भएपनि अहिले ५२५ जना सामुदायिक क्वारेन्टाइनमा बसिरहेका छन्।
कर्णली प्रदेशमा २७ कोरोना विशेष उपचार केन्द्रमा ५४० आइसोलेशन श्यया रहेको छ। त्यस्तै अस्पतालमा १५१ कोरोना विशेष श्यया, १७ भेन्टिलेटर तथा ४० आइसियु श्यया रहेका छन्।











