इदले नेपालीको आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ तुल्याउने छः राष्ट्रपति
काठमाडौं, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी स....
काठमाडौं, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले इद उल फित्रले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने बताएकी छिन् ।
इस्लाम धर्मावलम्बीले मनाउँदै आएको महान् पर्वका अवसरमा उनले आज शुभकामना सन्देश दिँदै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी हुन् ।
राष्ट्रपति भण्डारीले कोभिड–१९ को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको पनि सन्देशमा उल्लेख गरिन् । सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै रहेर सुरक्षित बनेर पर्व मनाउने पनि उनले विश्वास व्यक्त गरिन् ।
यसैगरी, उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा इस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन् । इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला पर्व आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने बताए ।