Kathmandu Press

लकडाउनमा घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

काठमाडौं, जेठ १२ : देशभरका मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

अरबी पात्रो हिजरी स....

लकडाउनमा घरघरमै नमाज पाठ गरी इदुल फित्र मनाइँदै

काठमाडौं, जेठ १२ : देशभरका मुसलमान समुदायले आज विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाउँदैछन् ।

अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन सोमबार देशभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर यो पर्व मनाउने छन् । दशौँ महिनाको पहिलो दिन सोमबार विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिइन्छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ ।

आशीर्वाद लिन आउने आफन्तलाई सेवई र खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ । खुशीपूर्वक दान गरेर दीनदुःखीलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने भए पनि यस वर्ष शनिबार बेलुकी चन्द्रमा नदेखिएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेन जानकारी दिए । अरबी पात्रोअनुसार कुनै पनि महिना ३१ दिनको नहुने भएकाले आइतबार बेलुकी अर्थात् ३० औँ दिन चन्द्रमा नदेखिए पनि त्यसपछिको दिनलाई १०औँ महिना मानिन्छ ।

यसैकारण सोमबार इद उल फित्र पर्व मनाउन लागिएको नेपाली जामे मस्जिदका अध्यक्ष अब्दुल मोहम्मद समीमले बताए ।यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण आइतबार बिहान नेपाली जामे मस्जिद घण्टाघरमा विशेष नमाज पाठमा पाँच जनाभन्दा बढी उपस्थित नहुने जनाइएको छ । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा बढीमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि धेरै मुसलानले घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल फित्र मनाउँदैछन् । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ ।

ठूलाबडाकहाँ आशीर्वाद लिँदा पनि बन्दाबन्दीको नियम नतोडिने जामे मस्जिदले जनाएको छ । यस वर्ष गत वैशाख १३ गतेदेखि मुसलमान समुदायको एक महिना लामो व्रत (रोजा) शुरु भएको थियो । एक वर्षभित्र गरेका पाप कटाउन रमजानसमेत भनिने यो व्रत गरिने उनले बताए । एक महिनासम्म दिनभर व्रत गरेर साँझ सूर्यास्तको नमाज पाठ गरिन्छ । बिहान सूर्योदयअघि र बेलुकी सूर्यास्तपछि मात्र मुसलमानहरुले नवौँ रमजान महिनामा भोजन गर्छन् ।

यस पर्वका अवसरमा मुसलमानहरुले नयाँ कपडा लगाई साथीभाइ कहाँ गएर इदको शुभकामना आदानप्रदान गर्छन् । यस वर्ष भने धेरैले घरमै नमाज पाठ गरी परिवारका सदस्यका बीच पर्व मनाउने तयारी गरेका छन् । घरमै नमाज पाठ गरिसकेपछि फोन वा सामाजिक सञ्जालका माध्यमबाट इद मुवारक भन्दै शुभकामना दिन सकिने धर्मगुरुहरुको आह्वान छ ।

यसैगरी ठूलाबडासँग आशीर्वाद पनि फोन अथवा सामाजिक सञ्जालबाट नै लिन सकिने छ । मुस्लिम आयोगले पनि शनिबार घरघरमै नमाज पाठ गर्न इस्लाम धर्मावलम्बीलाई आह्वान गरेको छ ।

प्रकाशित मिति: ०७:२४ बजे, सोमबार, जेठ १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्