‘पुनः पर्यटन वोर्डको सिईओ बन्न चाहान्थे, जनताले सांसद नै बनाईदिए’
वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा अनुभवी रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । खुला प्रतिस्पर्धाबाट पर्यटन बोर्डको सिईओ हुँदा रेग्मीले कोभिड–१९ को समयमा बोर्डमा धेरै राम्रा कामहरु गरेको उनका सहकर्मीहरु बताउँछन् । बोर्डमा रहँदा रेग्मीले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने तथा निजी–सार्वजनिक सहकार्यलाई सुदृढ बनाउने लगायतका पहल गरेका थिए ।
काठमाडौं, फागुन २६ : नेपाल पर्यटन वोर्डको (दोश्रो कार्यकाल) प्रमुख कार्यकारी अधिकृत बन्न चाहेका डा. धनन्जय रेग्मीलाई स्याङ्जा क्षेत्र नं १ जनताहरुले प्रतिनिधि सभा सदस्यमा बिजयी गराएका छन् । २०७६ सालमा पहिलोपटक नेपाल पर्यटन वोर्डको सिईओ बनेका रेग्मीले दोश्रो पटक २०८० सालमा पनि पुनः सिईओ बन्ने इच्छा जाहेर गर्दै आवेदन दिएका थिए ।
अन्तिम १४ जना उम्मेदवारमध्येबाट दिपकराज जोशी, रेग्मी र ज्ञानेश्वर सिंह महतो गरी तीन जनाको नाम सिफारिस गरेतापनि रेग्मी सिईओ बन्न पाएनन् । उनको सिईओ बन्ने इच्छामा जोशी बाधक बने र जोशी नै सिईओ छनौट भए । दोश्रो कार्यकाल पर्यटन वोर्डको सिईओमा सफल हुन नसकेतापनि स्याङ्जा–१ का जनताहरुले उनै रेग्मीलाई प्रतिनिधि सभा सदस्य निर्वाचित गरेर पठाएका छन् ।
पुराना राजनीतिक दलको दबदबा चिर्न सफल
लामो समयसम्म पुराना पार्टीको दबदबा रहँदै आएको यस क्षेत्रमा पहिलोपटक नयाँ राजनीतिक दलले बाजी मारेको हो । २०६४ सालमा तत्कालीन नेकपा माओवादीको लहर आएको बेलामा समेत यो क्षेत्रमा माओवादीले जित निकाल्न सकेको थिएन् । तर यसपटक देशैभर आएको रास्वपाको लहरले स्याङ्जामा बर्षौसम्म राज गर्दै आएका पुराना दललाई पाखा लगाउँदै भारी मतान्तरसहित रेग्मी निर्वाचित भए । रेग्मी २९ हजार ७१ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका भरतराज ढकालले १८ हजार ८५७ मत प्राप्त गरे । यस्तै नेकपा एमालेका मीनबहादुर गुरुङ १६ हजार ८०४ मतमा सिमित रहे ।

नेकपा एमालेको गण भनेर चिनिने यस क्षेत्रमा २०७० सालमा सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसबाट राजु थापाले जित हासिँल गरेका थिए । थापाले २०७४ सालमा पनि स्याङ्जा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यको लागि टिकट पाए । तर, बाम गठबन्धनहरु एक भएर चुनावी मैदानमा होमिएको हुँदा २०७४ सालमा यस क्षेत्रमा पुनः नेकपाले नै जित्यो । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा बामगठबन्धन फुटेको अवस्थामा माओवादी केन्द्र र समाजवादीको समेत साथमा पुनः थापा नै विजयी भए ।
संसदको पुर्ण कार्यकाल नसकिदै जेनजी आन्दोलन पश्चात प्रतिनिधि सभा विघटन भएपश्चात गत फागुन २१ मा सम्पन्न निर्वाचनमा थापा उम्मेद्वार बनेनन् । कांग्रेसले नयाँ उम्मेदवारका रुपमा ढकाललाई पठायो । देशभर पुराना पार्टीप्रति बढेको चरम असन्तुष्टी र रास्वपाको लहरकै कारण डा. रेग्मीले बाजी मार्न सफल भए ।
को हुन्, रेग्मी ?
२०३२ वैशाख २३ गते स्याङ्जाको पुतलीबजार नगरपालिका ५ नयाँबजारस्थित ढाँडेमा जन्मिएका पर्यटन तथा वातावरण अभियन्ता हुन् । अर्थ साइन्समा जापानबाट विद्यावारिधि गरेका रेग्मीले अमेरिकी विश्वविद्यालयमा पनि अध्ययन गरेका छन् । उनले केहि समय बुढानिलकण्ठ स्कूलमा अध्यापन गराएका थिए ।
वातावरण तथा जलवायु परिवर्तनको क्षेत्रमा अनुभवी रेग्मी आफ्नै ब्यापार व्यवसायमा संलग्न थिए । खुला प्रतिस्पर्धाबाट पर्यटन बोर्डको सिईओ हुँदा रेग्मीले कोभिड–१९ को समयमा बोर्डमा धेरै कामहरु गरेको उनका सहकर्मीहरु बताउँछन् । बोर्डमा रहँदा रेग्मीले नेपाललाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्ने तथा निजी–सार्वजनिक सहकार्यलाई सुदृढ बनाउने लगायतका पहल गरेका थिए ।

रेग्मी सिईओ हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रचारप्रसारको कार्यलाई निरन्तरता दिने नियमित कार्यसहित नेपाल चीन मैत्री ड्रागन बोट फेष्टिबल इन नेपाल, क्रस कन्टी म्याराथान, लुम्बिनी प्रमोटका लागि लुम्बिनी मार्ट, पिस म्यारथान, नेपालका पर्यटकीय गन्तब्यलाई विश्वमा चिनाउने उद्देश्यले विदेशी मिडियालाई नेपाल ल्याउने र चिनाउने लगायतका थुप्रै कार्यहरु गरेका थिए ।
रेग्मीलाई विद्यार्थीकालमा अनेरास्ववियुसँग नजिक भएको भनिएतापनि उनी यसअघि कहिल्यै पनि सक्रिय राजनीतिमा भने लागेका थिएनन् । रेग्मीले इम्जा हिमतालको जोखिम व्यवस्थापन गर्न नेपाली सेनाको प्राविधिक सल्लाहकारको रुपमा समेत काम गरेका थिए । इम्जा हिमताल फुट्ने जाखिम बढेपछि सरकारले हिमतालको गहिराइ घटनाउन परियोजना सञ्चालन गरेको थियो । त्यसबेला रेग्मीले सो परियोजना सफल बनाएका थिए ।
विवाद चिर्न राजनीतिमा
बोर्डको सीईओ हुँदा रेग्मीले पटक–पटक आरोप र विवादको सामना गर्नुपर्यो । कहिले पर्यटनमन्त्रीसँगको टसल, कहिले विमानस्थलमा ‘रक्सी’ का लागि प्रहरीसँगको झगडा र सुन तस्करी लगायतका आरोपहरु खेप्नुपर्यो ।
पर्यटन वोर्डमा रहँदा समेत उनले आफूले चाहे गरेका कतिपय काममा सम्बन्धित मन्त्रालय र सरकारको असहयोग भोगेका रेग्मीले नेपालको पर्यटन क्षेत्रलाई सुधार गर्न आफू नै राजनीतिमा होमिने तयारीसहित विगत ४ महिनादेखि जनताहरुको घर दैलोमा पुगेर मत माग्न थालेका थिए । यसरी मत मागेको केहि महिनामै उनी सांसद समेत निर्वाचित भए ।
रेग्मीका प्राथमिकता
रेग्मीले जीवन्त सँसद, गुणात्मक कानुन, सिद्वार्थ राजमार्गको विस्तार, स्तरोन्नति तथा दीर्घकालीन सुधारलाई आफ्नो प्राथमिकतामा राख्ने बताएका छन् ।

आफ्नो चुनावी बाचापत्रमा रेग्मीले प्लस टु पछि रोजगारीका लागि विशेष पहल गर्ने, डिजिटल पहुँच तर्फ फोर जि इन्टरनेट सेवा पुर्याउने, प्राथमिक स्वास्थ्य सुधार, एक पालिका एक आयुर्वेद अस्पताल निर्माण, नागरिकको घरघरमा शुद्ध खानेपानीको पहुँच, शिक्षामा नीतिगत र विधायाकि भुमिकासँगै सिपमुलक र व्यवहारिक प्राविधिक शिक्षामा जोड दिने उनको योजना छ ।
ग्रामीण पर्यटन, होमस्टे प्रवद्र्धन गर्दै स्याङ्जालाई राष्ट्रिय स्तरमै सुन्तला उत्पादनको हबका रुपमा विकास गर्ने र स्याङ्जालाई पर्यटन र सस्कृतिसँग जोड्न आफू सदैव लागिरहने रेग्मी बताउँछन् ।












