Kathmandu Press

विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक संघर्ष पूरा गरी विकासको बाटामा लागेकाले मित्र राष्ट्र र सहयोगी संघसंस्थाको सहयोग आव....

विकास प्रयासमा मित्र राष्ट्रको सहयोग चाहिएको छ : प्रधानमन्त्री

काठमाडौं, फागुन २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राजनीतिक संघर्ष पूरा गरी विकासको बाटामा लागेकाले मित्र राष्ट्र र सहयोगी संघसंस्थाको सहयोग आवश्यक भएको बताएका छन् ।

नेपाल जाइका एलमुनाई एसोसिएसनद्वारा आइतबार आयोजित ४५औँ वार्षिक कार्यक्रममा उनले भने, ‘हामीलाई विकास चाहिएको छ, हाम्रो एक्लो प्रयासले मात्र पर्याप्त हुँदैन, त्यसैले मित्र राष्ट्र र सहयोगी संघसंस्थाका प्रयासलाई विकासमा जोडेर अघि बढाउनुपर्छ ।’

नेपालको विकासका विदेशी लगानी र सहयोग जुटाउन सरकारले निकट भविष्यमै काठमाडौँमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै प्रधानमन्त्री ओलीले विकासका लागि विदेशी सहयोग, सहकार्य र लगानी आवश्यक रहेको बताए । नेपाल र जापानबीचको दशकौंँ लामो ऐतिहासिक कूटनीतिक सम्बन्धले शिक्षा, स्वास्थ्य पूर्वाधार निर्माणलगायत क्षेत्रमा सहयोग आदानप्रदान भइरहेको उल्लेख गर्दै उनले विगतमा नेपाल राजनीतिक समस्याको चक्रब्यूहमा रहँदा पनि जापानले गरेको सहयोगको प्रशंसा गरे ।

‘हामी सदैव शान्तिको पक्षमा छौं, जापानले शहर खरानी भएको दुःखद् ठाउँबाट उठेर फेरि एउटा असाधारण विकास गरेको छ, हामी जापानबाट प्रविधि हस्तान्तरण चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने ।

करीब ४४ वर्षअघि स्थापित एशोसिएशन जाइकामार्फत जापानमा गई अध्ययन, तालीम र भ्रमण पूरा गरी फर्केका विभिन्न क्षेत्रका पेशागत र व्यावसायिक व्यक्ति संलग्न गैरराजनीतिक र गैर नाफामूलक सामाजिक संस्था हो । यसले जापानी राजदूतावास र जाइका नेपालसँग निकटतम सम्बन्ध राखी नेपाल जापानबीचको मित्रतालाई सुदृढ बनाउँदै विभिन्न कार्यक्रम गर्दै आएको छ ।

कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले जापानमा अध्ययन र तालीमका क्रममा सिकेको ज्ञान र सीपलाई नेपालको विकासमा प्रयोग गर्न एशोसिएशनका सदस्यलाई आग्रह गरे । जाइका नेपालका प्रमुख प्रतिनिधि युमिको असाकुमाले जाइकाले नेपालको जनशक्ति क्षेत्रमा गर्दै आएको सहयोग कार्यक्रमबारेमा जानकारी दिँदै एसोसिएसनले विकास र सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे ।

एसोसिएसनका अध्यक्ष डा. रामचन्द्र भुसालले जापानले नेपालको शिक्षा, स्वास्थ्य, कृषिलगायत क्षेत्रमा ६ दशकदेखि निरन्तर गरेको सहयोगका लागि धन्यवाद दिए ।

प्रकाशित मिति: १५:११ बजे, आइतबार, फागुन २६, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्