निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन मतदातालाई आयोगको आग्रह
‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई अनुरोध गर्न चाहन्छौं। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्न चाहन्छौं,’ उनले भने।
काठमाडौं, फागुन २० : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरेका छन्।
निर्वाचनको पूर्वसन्ध्यामा आज आयोगमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाउँदै सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गरे।
‘प्रतिनिधिसभा सदस्य निर्वाचनमा उत्साहपूर्वक र सक्रिय रूपमा सहभागी हुन आममतदातालाई अनुरोध गर्न चाहन्छौं। निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ। सक्रिय रूपमा सहभागी हुन आममतदातालाई आग्रह गर्न चाहन्छौं,’ उनले भने।
यसैगरी निर्वाचन आयोगले रास्वपाका धनुषा १ का उम्मेदवार किशोरी साहले आफ्नो यथार्थ विवरण सही नलेखेको कारणले उम्मेदवारी खारेज भएको जनाएको छ। आफ्नो भएको ब्यहोरा लुकाएर लेखेको कारणले निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी खारेज गर्नुपरेको बताए।
उनको विरुद्ध उजुरी पर्याे, त्यसपछि हामीले विभिन्न निकायसँग सोधपुछ गर्दा उहाँ कालोसूचीमा रहेको पायौँ। त्यस्ता व्यक्तिको उम्मेदवारी कायम राख्न ऐनले दिँदैन। उजुरीउपर छानबिन गरेपछि उहाँलाई सफाइको लागि समेत समय दिएका थियौँ। उहाँले आफू कालोसूचीमा नभएको प्रमाण पेस गर्न सक्नुभएन,’ उनले भने।
आयुक्त भण्डारीले लोकतान्त्रिक वैद्यतालाई नवीकरण गर्ने संवैधानिक अभ्यासका रूपमा हुन लागेको निर्वाचन सहभागी भई आफ्नो अमूल्य मत प्रदान गर्न आह्वान गरे।
यस्तै प्रतिनिधिसभाको चुनावमा मतपेटिका ढुवानी गर्दा परिवर्तन गर्न सक्ने अवस्था नरहेको आयोगले जनाएको छ। मतदान भइसकेपछि ढुवानी गर्ने बेला कुनै पनि हालतमा मतपेटिका परिवर्तन नहुने बताएका हुन्।
‘धेरैले सेनाको हेलिकप्टरबाट ढुवानी गर्दा मतपेटिका परिवर्तन हुन्छ कि भनेर सोधेका छन् । मतपेटिका कुनै पनि हालतमा परिवर्तन हुँदैन,’ उनले भने।
त्यस्तै, आयोगले मतगणना सुरु भएको २४ घण्टाभित्र मतपरिणाम सार्वजनिक स्पष्ट पारेको छ। भण्डारीले मतदान सकिएलगत्तै मतपेटिका संकलन गरिने र गणना सुरु गरिने बताए।
‘मतपेटिका प्राप्त भएर गणना सुरु गरेका २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्छौं। साथसाथै समानुपातिकको पनि छिटै सार्वजनिक गर्छौं,’ उनले भने।
आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ। आयोगले विभिन्न १५ जिल्लाका ६१ मतदानस्थलबाट मतपेटिका हेलिकप्टबाट संकलन गर्ने जनाएको छ।












