Kathmandu Press

भारतबाट आउने क्रम नरोकिएपछि बागलुङका चार स्थानीय तह सिल

बागलुङ, जेठ ११ : कोरोना स‌ंक्रमणको जोखिम फैलन नदिन बागलुङका चार स्थानीय तह सिल गरिएको छ। बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिक....

भारतबाट आउने क्रम नरोकिएपछि बागलुङका चार स्थानीय तह सिल

बागलुङ, जेठ ११ : कोरोना स‌ंक्रमणको जोखिम फैलन नदिन बागलुङका चार स्थानीय तह सिल गरिएको छ। बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आगामी २० गतेसम्मलाई सिल गरिएको हो।

स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रतिनिधिलगायत सरोकार भएका पक्षको शनिबार बसेको बैठकले उक्त निर्णय गरेको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले बताए। 'एम्बुलेन्स र बिरामी बोकेका बाहेक सबै सवारीसाधन चल्न नदिने निर्णय भएको छ,' उनले भने,'निर्माण सामग्रीको ढुवानी साँझ ५ बजेपछि मात्र गर्न दिइनेछ।' बैठकले खाद्यान्न बोक्ने पिकअप जिपसमेत चल्न नदिने निर्णय गरेको छ।

बन्दाबन्दीलाई थप कडा तुल्याउने र विभिन्न बहानामा अनावश्यक हिँडडुल गर्नेलाई कारवाही गरिने भएको छ। भारतबाट आउनेको संख्या बढ्दै गएपछि संक्रमणको जोखिम हुन नदिन कडाइ गर्नुपरेको अध्यक्ष पाइजाले बताए। भारतलगायत बाहिर जुनसुकै ठाउँबाट आउन चाहने नागरिकलाई चारै स्थानीय तहले मिलेर उद्धार गर्ने सहमति गरेका छन्। पछिल्लो समय भारतमा अलपत्र परेका सर्वसाधारण गाउँ फर्कन थालेका छन्।

शुक्रबार र शनिबार गरी बडिगाड गाउँपालिकाका ६० जना भारतबाट आएका छन्। उद्धार गरी ल्याइएका सबैलाई क्वारेन्टाइनमा राखिएको गाउँपालिकाले जनाएको छ। झण्डै ५०० जना भारतबाट फर्कने गाउँपालिकाको आँकलन छ। 'भारतबाट आउनेको संख्या बढेपछि व्यवस्थापनमा चुनौती थपिएको छ,' अध्यक्ष पाइजाले भने, 'स्रोत साधन सीमित छ, आर्थिक वर्ष सकिन लागेकाले विकास योजनाका काममा पनि लाग्नुपरेको छ।'

भारतबाट आएका सबै नागरिकलाई क्वारेन्टाइनमा राखी कोरोना जाँचपछि मात्र घर पठाइने गाउँपालिकाले जनाएको छ। जिल्लाको पश्चिम भेगबाट रोजगारीका लागि भारत जानेको संख्या छ। बडिगाडको छिमेकी गलकोट नगरपालिकामा पनि शनिबार मात्रै २५ जना भारतबाट आएका छन्। भारतका विभिन्न ठाउँमा अलपत्र परेका व्यक्ति गलकोट फर्कन शुरु गरेको वडा नं ३ का अध्यक्ष वीरजङ्ग भण्डारीले बताए।(रासस)

प्रकाशित मिति: १३:२६ बजे, आइतबार, जेठ ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्