आज मध्यरातदेखि निर्वाचनको मौन अवधि सुरु हुँदै
निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन।
काठमाडौं, फागुन १८ : प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत आज मध्यरातदेखि मौन अवधि सुरु हुने भएको छ। निर्वाचन प्रचारप्रसारका कार्यक्रमहरू आजसम्म मात्र गर्न पाइनेछन्।
निर्वाचन आयोगका अनुसार सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भई मतदान सम्पन्न नहुँदासम्म लागू हुनेछ। यस अवधिमा निर्वाचन प्रचारप्रसार तथा यससँग सम्बन्धित कुनै पनि गतिविधि गर्न पाइने छैन।
आयोगका अनुसार मौन अवधि मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि लागू हुने भएकाले यस अवधिमा सभा, सम्मेलन, छलफल, अन्तक्र्रिया, कार्यशाला वा गोष्ठीजस्ता कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ।
त्यस्तै मतदानको ४८ घण्टाअघि मतदान स्थलको तीन सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका प्रचार सामग्री हटाउनुपर्ने छ। यस अवधिमा कुनै पनि माध्यमबाट मत माग्न वा प्रचारप्रसार गर्न पाइने छैन।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिता उल्लङ्घन भएमा सम्बन्धित उम्मेदवारको मनोनयन नै रद्द हुन सक्ने चेतावनी दिएका छन्।