म काम गर्ने मान्छे हुँ, निर्वाचित भए अझ जिम्मेवार बन्छु : डा.महत
घरदैलो कार्यक्रमका क्रममा उनले आफू पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गर्दै यसअघि ऊर्जामन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीका रूपमा काम गरिसकेको अनुभव सुनाए।
काठमाडौं, फागुन १४ : नेपाली कांग्रेसतर्फबाट नुवाकोट क्षेत्र नम्बर १ का उम्मेदवार डा.प्रकाश शरण महतले चुनावी घरदैलो कार्यक्रमलाई तीव्र बनाएका छन्।
नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरेका हुन्।
घरदैलो कार्यक्रमका क्रममा उनले आफू पहिलो पटक प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेको उल्लेख गर्दै यसअघि ऊर्जामन्त्री, परराष्ट्रमन्त्री र अर्थमन्त्रीका रूपमा काम गरिसकेको अनुभव सुनाए। महतले नुवाकोटमा बाँकी रहेका विद्युत् पहुँच विस्तारका काम आफूले सम्पन्न गराएको दाबी गरे।
‘म पहिलो पटक निर्वाचनमा लड्दैछु। यहाँबाट प्रत्यक्ष निर्वाचन पहिलो पटक लडे पनि म उर्जा मन्त्री भएँ, परराष्ट्र मन्त्री भए, अर्थमन्त्री पनि भए। बाँकी बिजुली जुन नुवकोटमा पुगेको थिएन त्यो पुर्याएको मैले हो,’ उनले भने, ‘म अर्थमन्त्री हुँदा ठूलो ठूलो बजेटमा सिँचाई आयोजना जिर्ण भैइसकेको थियो त्यसको लागि बजेट मैले ल्याएको हो। उत्पादन सुनिश्चित गर्न, सिँचाई सुनिश्चित गर्न यो समस्या हट्यो।’
उनले अर्थमन्त्री हुँदा जीर्ण अवस्थामा रहेका सिँचाइ आयोजनाका लागि आवश्यक बजेट विनियोजन गरेको उल्लेख गर्दै उत्पादन र सिँचाइ सुनिश्चित गर्न ती योजना प्रभावकारी बनेको बताए ।
कार्यक्रममा उनले अन्य दलले प्रतिबद्धता मात्र व्यक्त गर्ने तर आफूहरूको पार्टीले काम गरेर देखाउने दाबी गरे। ‘अरूले कुरा मात्र गर्छन्, हामी यस्तो गर्छौं उस्तो गर्छौं भन्छन्, तर नेपाली कांग्रेस काम गरेर देखाउँछ,’ उनले भने, ‘म काममा विश्वास गर्छु। निर्वाचित भएर आएपछि जनताप्रति अझ बढी जिम्मेवार भएर काम गर्नेछु र जनतालाई निराश पार्ने छैन।’
मतदातासँग उनले आफ्ना चुनावी एजेन्डा प्रस्तुत गर्नुका साथै स्थानीय समस्याबारे सुझाव संकलन गरिरहेका छन् । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले देशभर प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।












