कर्णालीमा कांग्रेसले शक्ति प्रदर्शन गर्दै
केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन्।
सुर्खेत, फागुन १४: नेपाली कांग्रेसले आज सुर्खेतमा शक्ति प्रदर्शन गर्ने भएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन लक्षित शक्ति प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ।
सुर्खेतमा हुने चुनावी सभामा सम्बोधन गर्न कांग्रेस सभापति गगन कुमार थापा सुर्खेत आउँदैछन्। प्रतिज्ञा पत्र सार्वजनिक पछि कंग्रेसको यो दोस्रो प्रदेशस्तरीय आमसभा हो। केहिबेरमा सुर्खेतको घण्टाघर डबलीमा हुने आमसभालाई नेपाली कांग्रेसका सभापति थापा, उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने छन्।
आमसभाका लागि कर्णालीका सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख र कालिकोट जिल्लाबाट समर्थकहरू सुर्खेत आउने छन्।
आजको आमसभाले कर्णालीमा कांग्रेसको पक्षमा चुनावी माहोल बनाउने विश्वास कांग्रेसले गरेको छ। आमसभाको प्रचार प्रसार व्यापक गरिएको र ठुलो सङ्ख्यामा मानिसहरू सभामा सहभागी हुने महामन्त्री केसीले बताए। आमसभाका लागि उपसभापति भुसाल काठमाडौंबाट हिजो नै सुर्खेत पुगी सकेको र सभापति थापा सर्लाहीबाट सुर्खेत आउने कार्यक्रम छ।
सुर्खेत नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको गृह जिल्ला हो। खड्काले चुनाव लड्दै आएको सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकमा विष्णुबहादुर खड्का उम्मेदवार बनेका छन्। आफ्नै भाइ चुनाव लडेका भए पनि खड्का चुनाव प्रचारमा सुर्खेत आएका छैनन्।
विशेष महाधिवेशनबाट थापा सभापति बनेपछि त्यसविरुद्ध निर्वाचन आयोग र अदालत गएका खड्कालाई चुनाव प्रचारमा आउन नसकेको बताइएको छ।












