निर्वाचन चहलपहल : सार्वजनिक गाडीहरुमा न्यून चाप, रिर्जभ गर्नेहरू बढे
चुनावलाई राजनीतिक गतिविधी मात्र नभई सामाजिक पर्वजस्तै बनाइदिएको छ। मानिसहरु राजनीतिक चेतका साथ राजनीतिक दलका गतिविधी, संकल्प पत्र वा प्रतिबद्धता पत्रको छलफलले सामाजिक गतिविधी बढाएको देखिन्छ ।
काठमाडौं, फागुन ११ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा देशभर चुनावी सरगर्मी बढेको छ।
सहर मात्र होइन गाउँबस्तीमा पनि राजनीतिक चहलपहल बाक्लिएको छ । दशैँ–तिहारमा मात्र भरिने गाउँहरू अहिले चुनावी अभियान, भेटघाट र रणनीतिक दौडधुपका कारण फेरि जीवित देखिन थालेका छन्।
निर्वाचनले नेपालको सामाजिक जीवनमा पनि एक विशेष प्रकारको चहलपहल देखिन थालेको छ। राजनीतिक दलका झण्डा, घरघरमा पुग्ने उम्मेदवार, गाउँमा फेरि सक्रिय हुने टोलभेला, चिया पसलमा बहस चुनावकै चलिरहेको छ।

चुनावलाई राजनीतिक गतिविधी मात्र नभई सामाजिक पर्वजस्तै बनाइदिएको छ। मानिसहरु राजनीतिक चेतका साथ राजनीतिक दलका गतिविधी, संकल्प पत्र वा प्रतिबद्धता पत्रको छलफलले सामाजिक गतिविधी बढाएको देखिन्छ ।
तर चुनावको मुखैमा पनि लामो दुरीको यात्रा तय गर्ने सवारी साधनहरुमा यात्रुहरुको संख्या न्यून छ । यतिवेला पनि यात्रु चाप भने अपेक्षित रूपमा नबढेको यातायात व्यवसायीहरूको बताउँछन्।
सुदूरपश्चिम क्षेत्रमा सेवा सञ्चालन गर्दै आएको सुन्दर सुदुरपश्चिम यातायात प्रा.लिका कर्मचारी यादव गिरीका अनुसार अहिले यात्रु आवतजावत सामान्य अवस्थामा नै छ।
‘अहिले चुनावका लागि भनेर यात्रुहरूको भीड खासै देखिएको छैन। मानिसहरू फाट्टफुट्ट रूपमा मात्र गाउँतिर गइरहेका छन्। पहाडी भेगका केही मतदाता चुनावका लागि फर्किने क्रम सुरु भएपनि ठूलो लहर भने आएको छैन,’ उनले भने।
गिरीका अनुसार विगतका चुनावमा उम्मेदवारहरूले गाडी रिजर्भ गरेर आफ्ना समर्थकलाई गाउँ पठाउने चलन थियो। यसपटक पनि त्यो प्रक्रिया सुरु हुन सक्ने उनले बताए।

उम्मेदवारहरूले गाडी रिजर्भ गरेर आफ्ना समर्थकलाई गाउँ पठाउँदा लामो यात्रा तय गर्ने सार्वजनिक सवारी साधन खाली जस्तै छन् भने बस पार्क सुनसान छ।
‘अझ दुई–चार दिनपछि उम्मेदवारहरूले गाडी रिजर्भ गर्न थाल्न सक्छन्। हामीलाई सम्पर्क गरी बाहिर–बाहिरबाट गाडी बुक गरी लैजाने देखिन्छ,’उनले भने।
उनले चुनाव केन्द्रित यात्राका लागि टिकटको अग्रिम बुकिङ नखोलिए पनि अनलाइन बुकिङ भने खुला रहेको जानकारी दिए। ‘अहिले अनलाइन बुकिङ खुला छ तर चुनावलाई केन्द्रित गरेर अग्रिम टिकटको बुकिङ भने आएको छैन,’ उनले भने।
कम्पनीका अनुसार काठमाडौंबाट छुट्ने अधिकांश गाडी रात्रि सेवामा सञ्चालन हुने गरेका छन्। दिनमा गाडी कम चल्ने भएकाले यात्रु व्यवस्थापन राति नै हुने गरेको छ।

काठमाडौंदेखि धनगढीसम्मको भाडा २ हजार ८ सय ९५ रुपैयाँ रहेको गिरीले जानकारी दिए। यस्तै कम्पनीका गाडीहरू अत्तरिया, टीकापुर हुँदै सुदूरपश्चिमका पहाडी जिल्लासम्म पुग्ने गरेका छन्।
बाजुरा जाने भाडा करिब ४ हजार ५०० रुपैयाँ र बझाङ जाने भाडा करिब ४ हजार ४ सय ८५ रुपैयाँ रहेको उनले बताए।
चुनाव नजिकिँदै जाँदा यात्रुको चाप बढ्ने आशा
मतदान मिति नजिकिँदै जाँदा यात्रु चाप बढ्न सक्ने यातायात व्यवसायीहरूको अनुमान छ। विशेषगरी उम्मेदवारहरूले समर्थकलाई गाउँ लैजाने चलन सुरु भएमा अचानक भीड बढ्ने सम्भावना रहेको गिरी बताउँछन्।

गिरीका अनुसार कम्पनीसँग पर्याप्त गाडी भएकाले यात्रु व्यवस्थापनमा समस्या नहुने विश्वास गरिएको छ। चुनावले गाउँसँगको सम्बन्ध पुनर्जीवित गर्ने मात्र होइन सामाजिक मनोविज्ञान पनि जगाउँछ। मत हाल्न गाउँ फर्किनु कर्तव्य मात्र नभई मताधिकारसँग जोडिएको भावनात्मक पक्ष पनि हो।
त्यसैले अहिले चाप कम देखिए पनि फागुन २१ अगाडि गाउँ फर्किने लहर तीव्र हुन सक्ने यातायात व्यवसायी कम्पनीको भनाइ छ।












