कर्मचारीमा कोरोना संक्रमण, चिकित्सकसहित सात जना आइसोलेसनमा
डडेल्धुरा, जेठ ११ : डडेल्धुरामा एक जना सरकारी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको सम्पर्कमा रहेका चिकित्सकसहित सात जनालाई आइसोलेसनमा राख....

डडेल्धुरा, जेठ ११ : डडेल्धुरामा एक जना सरकारी कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। उनको सम्पर्कमा रहेका चिकित्सकसहित सात जनालाई आइसोलेसनमा राखिएको छ।
शुक्रबार संक्रमण पुष्टि भएका एक जना सरकारी कर्मचारी रहेको खुलेको हो। उनी डडेल्धुरा सदरमुकामकै कार्यालयमा कार्यरत रहेको जनाएको छ।
उनी केही दिन अघि स्क्रब टाइफसको उपचार गराउन डडेल्धुरा अस्पताल पुगेका थिए। स्क्रब टाइफसको उपचारका क्रममा उनको थ्रोट स्वाब पनि संकलन गरिएको थियो।
उनी स्क्रब टाइफसको औषधि लिएर अस्पतालबाट घर फर्किएका थिए। तर, पछि उनलाई कोरोना संक्रमण भएको रिपोर्ट आएको अस्पतालले जनाएको छ।
उनीको सम्पर्कमा आएका कर्मचारी, सञ्चारकर्मी, होटल सञ्चालक तथा डडेल्धुरा अस्पतालमा कार्यरत स्वाथ्यकर्मी र कर्मचारी गरी एक सय ५० जनाको स्वाब परीक्षण गरिएको छ। त्यसमध्ये २० जनाको आरडिटी गरिएको र चिकित्सकसहित सात जनालाई आइसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख आशुतोष श्रेष्ठले बताए।
जिल्लामा भारतबाट फर्किएका नागरिकलाई सबै स्थानीय तहले क्वारेन्टाइनमा राखिरहेको प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताए। अहिलेसम्म ६ सय २६ जनालाई सात स्थानीय तहको क्वारेन्टाइनमा राखिएको प्रजिअ पन्तले बताए।











