स्याङ्जा-१ का उम्मेदवार भरत ढकालका १० संकल्प
उम्मेदवार ढकालले दशबुँदे संकल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम कला/पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समाबेश गरेका छन्। घोषणा–पत्र, प्रतिबद्धता र संकल्पलाई उनले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समयमा गर्न सकिने समेटिएकाे छ।
स्याङ्जा, फागुन ५ : आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरेर उम्मेदवारहरु निर्वाचन क्षेत्र केन्द्रित चुनावी प्रचारमा व्यस्त भएका छन्। देशभर जस्तै स्याङ्जा क्षेत्र नं.१ का एक स्वतन्त्र सहित १२ जना उम्मेदवार पनि चुनावी प्रचारमा व्यस्त भएका हुन्।
एक स्वतन्त्र सहित १२ जना उम्मेदवार चुनावी प्रचारमा व्यस्त भईरहँदा स्याङ्जा क्षेत्र नं.१ मा नेपाली काँग्रेसका उम्मेदवार भरतराज ढकालले आकर्षक र प्रभावकारी चुनावी प्रचारमा केन्द्रित छन्। अन्य दलका उम्मेदवारले चुनावी घोषणा–पत्रकै आधारमा चुनाव प्रचार गरिरहँदा ढकालले घोषणा–पत्र, प्रतिबद्धता र दशबुँदे संकल्प (भरत भिजन) जारी गरेका छन्।
उम्मेदवार ढकालले दशबुँदे संकल्पमा स्वामित्व, उत्पादन, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उद्यम कला/पर्यटन, कल्याण, जोखिम व्यवस्थापन र सुशासनलाई समाबेश गरेका छन्। घोषणा–पत्र, प्रतिबद्धता र संकल्पलाई उनले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन समयमा गर्न सकिने समेटिएकाे छ।
मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्व अध्यक्ष समेत रहेका उम्मेदवार ढकालले पहिलो बुँदा स्वामित्वमा जिल्लाका नागरिकको स्वामित्वमा पब्लिक कम्पनी स्थापना गरी कृषि सहितको गौरवका आयोजना संचालन गर्ने परिकल्पना गरेका छन् । दोस्रो बुँदामा उनले उत्पादन भनेर ‘एक वडा, एक उत्पादन’ प्रणालीको विकास मार्फत उद्यमशीलता र आयआर्जन वुद्धि गर्दै जाने संकल्प गरेका छन्।
संकल्पको तेस्रो बुँदामा शिक्षालाई समाबेश गरेका ढकालले अनिवार्य, व्यवहारिक, बजार उपयोगी, प्रविधिमैत्री र गुणस्तरीय शिक्षा सुनिश्चितता गर्ने प्रतिबद्धता गरेका छन्। चौथो बुँदामा स्वास्थ्य क्षेत्रलाई राखेका अर्थविज्ञ ढकालले स्वास्थ्य बीमाको दायरा वृद्धि सहित सर्वसुलभ, गुणस्तरीय र अनिवार्य स्वास्थ्य सेवाको संकल्प गरेकाछन्।
बुँदाको पाँचौंमा पूर्वाधारतर्फ सबै नागरिकहरुको पहुँचमा स्वच्छ खानेपानी, नवीकरणीय उर्जा, सडक सञ्जाल, इन्टरनेट र खेलकुद पूर्वाधारलाई जोड दिएका उम्मेदवार ढकालले छैटौं बुँदामा बिजनेस इन्कुवेशन, प्रविधिको पहुँच, प्रतिस्पर्धी क्षमता र संस्थागत संरचनाहरुको विकास मार्फत युवा उद्यमशीलताको विकासलाई प्राथमिकता दिइएको।
संकल्पको सातौं बुँदामा कला÷पर्यटनतर्फ स्थानीय कला, संस्कृति, सम्पदा, जैविक विविधता, प्राङ्गारिक उत्पादन प्रवद्र्धन र संरक्षण मार्फत पर्यटन क्षेत्रको विकास गर्ने संकल्प गरिएको छ भने कल्याण शिर्षकको आठौं बुँदामा महिला, वृद्धवृद्धा, पिछडिएका वर्ग, गरिब, विपन्न समुदाय लक्षित कार्यक्रम तथा राहतकोषको व्यवस्था सहितको संकल्प गरिएको छ।
जोखिम व्यवस्थापन शिर्षकमा बाँदर लगाएतका जङ्गली जनावर तथा प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण कार्यक्रम र जोखिमकोष स्थापना गर्ने संकल्प गरेका ढकालले संकल्पको दशौं बुँदामा तीनै तहकार सरकार र गैरसरकारी निकायहरुको समन्वयमा आधारभूत सेवा कार्यक्रम र आर्थिक सार्वजनिक सुनुवाई गरिने गरी सुशासनको सुनिश्चिता गरेका छन्।












