प्रलोपाको घोषणापत्र : संघ र प्रदेशमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि निर्वाचन प्रणाली परिवर्तनसम्म
उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ।
काठमाडौं, फागुन ३ : प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) लेफागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टी अध्यक्षहरु सुदन किराती, दुर्गा सोब र सन्तोष परियार लगायतले संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन्।
पत्रकार सम्मेलनमा बोल्दै सन्तोष परियार, सुदन किँरातीले मुलुक चरम आर्थिक संकट, राजनीतिक दल तथा नेतृत्वको तीव्र भ्रष्टीकरण र कुशासनका कारण गम्भीर परिस्थितिमा पुगेको बताए।
उनीहरूका अनुसार गत भदौ २३–२४ मा भएको ‘जेनजी विद्रोह’ ले नेपाली समाजलाई जरैदेखि हल्लाएको उल्लेख गर्दै उक्त आन्दोलनकै बलमा चुनावी अन्तरिम सरकार गठन भई संसद् विघटन भएको र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुन गइरहेको जानकारी दिइयो।
उनीहरूका अनुसार आगामी निर्वाचनमार्फत अग्रगामी वैकल्पिक शक्तिको सार्थक पहल सम्भव भएमा मुलुकको राजनीतिक पुनर्संरचनासहित सुशासन र समृद्धिको ढोका खुल्ने विश्वास व्यक्त गरिएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा भक्तपुर २ का प्रत्यक्ष उम्मेदवार जन्मदेव जैसीका अनुसार संविधान व्यवहारतः कार्यान्वयन नहुँदा पूरा हुन नसकेका जनआकांक्षा तथा जेनजी र नेपाल सरकारबीच भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि उक्त निर्वाचन कोसेढुंगा सावित हुने छ।
पार्टीले परिवर्तनका विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने ज्ञातअज्ञात सहिदको सपना पूरा गर्ने अठोट व्यक्त गर्दै पार्टीले निर्वाचनमा उत्साहपूर्ण सहभागिताका लागि आम जनसमुदायलाई अपिल गरेको छ।
प्रलोपा : अन्य पार्टीभन्दा फरक दाबी
प्रलोपा नेतृत्वले हाल अभ्यासमा रहेको लोकतन्त्रले जनतालाई पाँच वर्षमा एक पटक मतदान गर्ने अधिकारमा मात्र सीमित गरेको आरोप लगाएको छ। लोकतन्त्रका नाममा दलतन्त्र, गुटतन्त्र र नेतातन्त्र मौलाएको जनगुनासो बढिरहेको उल्लेख गर्दै पार्टीले ‘प्रगतिशील लोकतन्त्र’ को अवधारणा अघि सारेको जनाएको छ।
पार्टीका अनुसार यसको मूल आधार पूर्ण समावेशीता, सामाजिक न्याय र समता, जनसहभागितामूलक शासन, आर्थिक तथा सांस्कृतिक अधिकारको सुनिश्चितता, सुशासन, पारदर्शिता तथा अग्रगामी परिवर्तनमा आधारित हुनेछ।
प्रलोपा नेतृत्वले पुराना दलहरू वर्तमान समस्याको समाधान र भविष्यका सम्भावनाको यथार्थ मूल्यांकन गर्न असफल भएको आरोप लगाउँदै आफूहरूसँग मुलुकलाई समृद्ध बनाउने स्पष्ट दृष्टिकोण, वैचारिक स्पष्टता, युवा तथा दूरदर्शी नेतृत्व, ठोस योजना र कार्यक्रम रहेको दाबी गरेको छ।
प्रतिनिधिसभा निर्वाचनलाई राजनीतिक रूपान्तरणको ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै आफूलाई अग्रगामी वैकल्पिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य सार्वजनिक गरेको छ।












