सिन्धुलीमा टाटासुमको ठक्करबाट एक बालकको मृत्यु, सडक अवरुद्ध
आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
सिन्धुली, फागुन ३ : सोलुबाट काठमाडौंतर्फ जाँदै गरेको टाटा सुमोले सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ लामसोतीस्थित मध्यपहाडी लोकमार्ग सडक खण्डमा आइतबार ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ।
आइतबार दिउँसो सोलुखुम्बुबाट काठमाडौँतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको सुमोले पैदल यात्री बालकलाई ठक्कर दिँदा गम्भीर घाइते भएका थिए।
उनलाई गोलञ्जोर अस्पतालमा उपचारको लागि पठाएकोमा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतक गोलञ्जोर गाउँपालिका–२ निवासी ठाकुर बयलकोटीका करिब ९ वर्षीय छोरा अषिक बयलकोटी भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले ग्वाल्टारस्थित मध्यपहाडी लोकमार्ग अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा सवारी आवागमन पूर्ण रूपमा प्रभावित भएको छ।
दुर्घटनाको खबर पाए लगत्तै प्रहरी चौकी ग्वालटार र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा टोली घटनास्थलमा खटिएको थियो । प्रहरीले सुमो र चालक दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खुर्कोटमा राखेको छ।
प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको आशङ्का गरिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । चालक सोलुखुम्बुको नेचसल्यान गाउँपालिका–२ का २७ वर्षीय गोपाल भुजेल भएको प्रहरीले जानकारी दिएको छ।












