फिनल्याण्डमा नेपाली डायस्पोरा लक्षित ‘क्यालोर न्यूट्रिशन’का उत्पादन बजारमा
सोही प्रयासस्वरूप पहिलो चरणमा १६ प्रकारका उत्पादन बजारमा ल्याइएको छ भने चालु वर्षभित्र थप १० नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। ब्रान्डको आधिकारिक वेबशप आजैबाट फिनल्याण्डमा सञ्चालनमा आएकाे छ।
काठमाडौं, फागुन २ : फिनल्याण्डस्थित नेपाली डायस्पोरालाई प्रतिनिधित्व गर्दै आशिष थापाको नेतृत्वमा विशेषज्ञहरूको एक समूहले ‘क्यालोर न्यूट्रिशन’ नामक नयाँ पोषण पूरक (न्यूट्रिशनल सप्लिमेन्ट) ब्रान्ड सार्वजनिक गरेको छ।
‘नर्डिक कोल्याब लिमिटेड’ कम्पनीअन्तर्गत सञ्चालनमा आएको यस ब्रान्डले विगत दुई वर्षदेखि आफ्नै प्रयोगशालामा प्रिमियमस्तरका उत्कृष्ट सप्लिमेन्ट उत्पादन विकास गर्दै आएको थियो।
सोही प्रयासस्वरूप पहिलो चरणमा १६ प्रकारका उत्पादन बजारमा ल्याइएको छ भने चालु वर्षभित्र थप १० नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ। ब्रान्डको आधिकारिक वेबशप आजैबाट फिनल्याण्डमा सञ्चालनमा आएकाे छ।
कम्पनीका अनुसार उत्पादनहरूमा ह्वे प्रोटिन पाउडर, मास गेनर, ऊर्जा अभिवृद्धि गर्ने प्रि–वर्कआउट पाउडर, एमिनो एसिड पाउडर, भेगन प्रोटिन, ओमेगा–३ सफ्ट जेल तथा भेगन मल्टिभिटामिन गम्मीज हरू समावेश छन्। यी उत्पादनहरू सामान्य रूपमा सक्रिय जीवनशैली अपनाउने सबै उमेर समूह र लिङ्गका व्यक्तिहरूलाई लक्षित गरी तयार पारिएको बताइएको छ। विगतमा सप्लिमेन्टहरू केवल जिम जाने व्यक्तिहरूका लागि मात्र भन्ने धारणा प्रचलित रहे पनि पछिल्लो समय उक्त सोच क्रमशः परिवर्तन हुँदै गएको कम्पनीको भनाइ छ।

क्यालोर न्यूट्रिशनका उत्पादनहरू प्राकृतिक स्वादसहित, संरक्षक पदार्थरहित तथा चिनीबिनाको मिश्रणमा तयार पारिएको जनाइएको छ, जसले उपभोक्तालाई स्वादसँगै पोषण समेत प्रदान गर्ने लक्ष्य राखेको छ। उत्पादनहरू डार्क चकलेट, स्मूथ भेनिला, प्राकृतिक स्ट्रबेरी, चाइ भेनिला, फिनिस बेरीदेखि रास्पबेरी लेमोनेडसम्मका फरक र आकर्षक स्वादमा उपलब्ध हुनेछन्। “प्रिमियम अब सबैका लागि सुलभ” भन्ने मूल नारासहित कम्पनीले गुणस्तरीय उत्पादनलाई सर्वसुलभ मूल्यमा उपलब्ध गराउने लक्ष्य लिएको छ।
प्रारम्भिक चरणमा उत्पादन फिनल्याण्डमा सार्वजनिक गरिए पनि नेपाल, बंगलादेश, स्वीडेन, ट्युनिसिया तथा मध्य–पूर्व एसियाली मुलुकहरूमा वितरणका लागि सम्झौता प्रक्रिया अगादी बधेको कम्पनीले जनाएको छ। हालका लागि उत्पादनहरू फिनल्याण्डस्थित क्यालोर न्यूट्रिशनको वेबशप तथा स्थानीय खुद्रा सञ्जालमार्फत अर्डर गर्न सकिनेछ। ठूलो परिमाणमा अर्डरका लागि नर्डिक र बाल्टिक देशहरूमा डेलिभरी व्यवस्था मिलाइएको छ।

सन् २०२६ को मध्यसम्म नेपालमा समेत उत्पादन उपलब्ध हुने सम्भावना रहेको बताइएको छ। नेपाली आयातकर्ता तथा वितरकहरूसँग सहकार्यबारे छलफल जारी रहेकाले छिट्टै आधिकारिक माध्यमबाट नेपाली उपभोक्ताले स्वदेशमै उत्पादन प्राप्त गर्ने अपेक्षा गरिएको छ। फिनल्याण्डमा निर्मित प्रिमियम उत्पादन अन्य अन्तर्राष्ट्रिय ब्रान्डको तुलनामा सुलभ मूल्यमा नेपाली बजारमा उपलब्ध गराउने लक्ष्य कम्पनीको छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत आशिष थापाका अनुसार उत्पादनका नमूनामा सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ भने वितरण तथा सहकार्यका लागि विभिन्न प्रस्तावहरू प्राप्त भइरहेका छन्। उनले आगामी दिनमा उत्पादन दायरा विस्तार गर्दै विश्वका विभिन्न मुलुकमा क्यालोर ब्रान्ड उत्पादन तथा वितरण गर्ने योजना रहेको बताए।
साथै, विश्वभर रहेका नेपाली समुदायलाई स्थानीय उत्पादन संयन्त्र स्थापना वा वितरण सम्झौतामार्फत सहकार्य गर्न आह्वानसमेत गरेका छन्।












