सर्लाही र रौतहटमा ’रोड शो’पछि बालेन निजगढ लागे
सर्लाहीबाट रौतहट आइपुग्दा नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए।
रौतहट, माघ २८ : राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का वरिष्ठ नेता बालेन शाह चुनावी माहोल तताउन र पार्टी उम्मेदवारहरूको मनोबल उच्च राख्न यतिबेला मधेश प्रदेशको भ्रमणमा रहेका छन् । बुधबार उनी सर्लाही र रौतहटका विभिन्न स्थानमा ‘रोड शो’ गर्दै बाराको निजगढ पुगेका छन्।
भ्रमणको क्रममा शाहले बुधबार बिहान सर्लाहीको संसदीय निर्वाचन क्षेत्र नम्बर ४ मा भव्य रोड शो गरेका थिए। यो क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाबाट अमरेश कुमार सिंह चुनावी मैदानमा छन्।
नेता शाह बिहान लालबन्दीबाट नवलपुर हुँदै सदरमुकाम मलंगवा पुगेका थिए भने त्यहाँबाट हुलाकी मार्ग हुँदै क्षेत्र नम्बर ४ मा प्रवेश गरेका थिए।
सर्लाहीबाट रौतहट आइपुग्दा नेता शाहलाई पार्टी कार्यकर्ता र सर्वसाधारणले भव्य स्वागत गरे। गरुडा र चन्द्रनिगाहपुरमा समर्थकहरू रास्वपाको झन्डा र फूलमाला लिएर उनको स्वागतमा उत्रिएका थिए।
यसैबीच, चन्द्रनिगाहपुरमा भएको भीडभाडको फाइदा उठाउँदै एक समर्थकको सुनको सिक्री चोरी भएको गुनासो आएको छ। रोड शोका क्रममा बालेनले गाडीबाटै हात हल्लाउँदै समर्थकहरूको अभिवादन स्वीकार गरे पनि कुनै औपचारिक भाषण भने गरेनन्।
रौतहटमा घन्टी बजाउँदै रोड शो समापन गरी शाह बाराको निजगढ तर्फ प्रस्थान गरेका छन्। निर्धारित कार्यक्रम अनुसार उनी निजगढबाट कलैया हुँदै आजै पर्साको वीरगन्ज पुग्ने तालिका रहेको छ।












