निर्वाचनका कारण ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सर्यो, अब चैत्र ७ गते हुने
निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
सुनसरी माघ २३ : ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ को मिति सरेकाे छ। इटहरीमा फागुन ७ गते हुने तय भएकाे अवार्ड निर्वाचन आचारसंहिताका कारण एक महिनापछि सरेकाे छ।
कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवर्द्धन गर्ने उद्देश्यसहित नयन मिडिया फाउन्डेसनले आयोजना गर्ने ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ अब चैत ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा आयोजना हुनेछ।
फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुन गइरहेको र निर्वाचन आयोग नेपालले जारी गरेको आचारसंहितालाई पूर्ण रूपमा पालना गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको समयतालिका पुनरावलोकन गरिएको आयोजकले आज ९शुक्रबार० एक विज्ञप्ती जारी गर्दै जनाएको छ।
निर्वाचन आयोगबाट प्राप्त निर्देशन, मार्गदर्शन र सुझावअनुसार निर्वाचन सम्पन्न भएपछि मात्रै कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको विज्ञप्तिमार्फत जानकारी गराइएको छ।
अवार्डका लागि छनोटमा परेका व्यक्तित्वहरू, सहयोगी तथा साझेदार संस्थाहरू, सरोकारवाला निकायहरू र शुभेच्छुकहरूलाई यसबारे औपचारिक जानकारी गराइएको छ ।
‘कोशी एक्सिलेन्स अवार्ड’ कोशी प्रदेशका विभिन्न क्षेत्रहरूमा नेतृत्व, उद्यमशीलता, नवप्रवर्तन, सामाजिक उत्तरदायित्व, संस्थागत उत्कृष्टता तथा दीर्घकालीन योगदानमार्फत सकारात्मक प्रभाव सिर्जना गरेका व्यक्ति तथा संस्थाहरूको पहिचान र सम्मान गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको कार्यक्रम हो।
गत वर्ष सम्पन्न पहिलो संस्करणले स्थापित गरेको विश्वास र गरिमाका आधारमा दोस्रो संस्करणलाई अझ प्रभावकारी र सन्देशमूलक बनाउने लक्ष्य आयोजकले लिएको जनाएको छ।
निर्वाचनको संवेदनशील समयमा आयोगले तोकेका नियम, सर्त र मापदण्डको सम्मान गर्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै मिति परिवर्तनका कारण सरोकारवालामा पर्न गएको असुविधाप्रति नयन मिडिया फाउन्डेसनले क्षमायाचना व्यक्त गरेको छ। नयाँ मितिमा कार्यक्रमलाई थप सुव्यवस्थित, मर्यादित र उच्चस्तरीय रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले निर्वाचन आचारसंहिताको पूर्ण सम्मान गर्दै कार्यक्रमको मिति परिवर्तन गरिएको र नयाँ मितिमा अझ व्यवस्थित रूपमा अवार्ड वितरण कार्यक्रम सम्पन्न गरिने बताए।












