पञ्चायती शासनकालको चुनौतीबीच जन्मिएको युथ कर्नर क्लबः ५० वर्षको सामाजिक यात्रा
यही चुनौतीपूर्ण परिस्थितिमा काठमाडौँको गोफल टोलका सचेत र ऊर्जाशील युवाहरूले समाजका लागि केही गर्नैपर्छ भन्ने भावना बोकेर युथ कर्नर क्लब स्थापना गरेका थिए । जसले आजको समयमा आफ्नो स्थापना भएको ५० वर्ष पूरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ।
काठमाडौं, माघ २२ : देशमा पञ्चायती शासन व्यवस्था कायम रहेको समयमा सामाजिक सेवा, नागरिक चेतना र सामुदायिक विकासका कामहरू संस्थागत रूपमा अघि बढ्न कठिन थियो । निरङ्कुश राजनीतिक प्रणालीका कारण नागरिक स्वतन्त्रता सीमित थियो र सामाजिक काम गर्ने वातावरण पनि सहज थिएन ।
यही चुनौतीपूर्ण परिस्थितिमा काठमाडौँको गोफल टोलका सचेत र ऊर्जाशील युवाहरूले समाजका लागि केही गर्नैपर्छ भन्ने भावना बोकेर युथ कर्नर क्लब स्थापना गरेका थिए । जसले आजको समयमा आफ्नो स्थापना भएको ५० वर्ष पूरा गर्दै स्वर्ण जयन्ती मनाइरहेको छ।
गोफल टोल वडा नम्बर २१ स्थित युथ कर्नर क्लब २०३२ साल माघ १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा औपचारिक रूपमा दर्ता भएको हो। पञ्चायती शासनकालमा जन्मिएको यस क्लबले समाजसेवा, धर्म तथा संस्कृतिको संरक्षण, युवाको परिचालन र सामाजिक सुधारलाई मूल उद्देश्य बनाएर काम गर्दै आएको छ । संगठित रूपमा सामाजिक गतिविधि गर्न कठिन समय हुँदाहुँदै पनि क्लबका संस्थापक युवाहरूले जोखिम मोलेर संस्था अगाडि बढाएका थिए र समाज सुधार तथा समुदायप्रतिको जिम्मेवारी नै यसको प्रमुख प्रेरणा बन्यो।
क्लबको सुरुवात अत्यन्त साधारण अवस्थाबाट भएको थियो। एकतले टिनको छाना मुनि बसेर काम गर्ने र सीमित स्रोतसाधनकै भरमा सामाजिक काम सञ्चालन गर्ने अवस्थाबाट क्लबले आफ्नो यात्रा सुरु गरेको थियो। सदस्यहरूको श्रम, समर्पण र आपसी सहयोगकै कारण क्लबले निरन्तरता पायो र अन्ततः २०४७ सालमा करिब पाँच लाख रुपैयाँ लगानीमा आफ्नै भवन निर्माण गर्न सफल भयो, जसलाई क्लबको संस्थागत विकासको महत्वपूर्ण उपलब्धि मानिन्छ।
‘पञ्चायती शासनकालमा खुलेर सामाजिक काम गर्न गाह्रो थियो। तर युवाहरूमा समाजका लागि केही गर्नैपर्छ भन्ने भावना बलियो थियो। त्यही भावनाबाट युथ कर्नर क्लब जन्मियो, जुन आज ५० वर्षसम्म आइपुग्दा एउटा सामाजिक अभियानकै रूपमा स्थापित भएको छ। ’हामीले क्लबको हरेक कामलाई निरन्तरता दिइरहेका छौँ र अझै सामाजिक काम गर्दै अघि बढ्न् छौँ,’ क्लबका अध्यक्ष रवि काजी शाक्यले बताए ।
विगत पाँच दशकदेखि युथ कर्नर क्लबले टेकु क्षेत्र र आसपासका समुदायमा स्वास्थ्य शिविर, रक्तदान, सरसफाइ अभियान, विपद् राहत, खाद्यान्न तथा लत्ताकपडा वितरण र सामाजिक सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। विशेषगरी विपद् तथा आपतकालीन अवस्थामा क्लब अग्रपंक्तिमा उभिँदै पीडित परिवारहरूलाई सहयोग पु¥याउँदै आएको छ । साथै समुदायमा स्वास्थ्य, सरसफाइ तथा सामाजिक उत्तरदायित्वबारे सचेतना फैलाउने कामलाई निरन्तर प्राथमिकतामा राखेको छ।
“हामीले सधैँ युवालाई समाजसँग जोड्ने कामलाई प्राथमिकतामा राखेका छौँ। क्लबले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन र संस्कृतिको संरक्षणजस्ता क्षेत्रमा निरन्तर काम गर्दै आएको छ । यसलाई अझ विस्तार गर्ने हाम्रो योजना छ। यसका साथै अब नयाँ नयाँ टेक्नोलोजी र एआईसँग सम्बन्धित कामलाई पनि सँगै अघि बढाउँदै युवामैत्री कामलाई प्राथमिकता दिने योजना रहेको छ,” क्लबका उपाध्यक्ष ज्ञानेश डंगोलले बताए ।
सामाजिक सेवासँगै युथ कर्नर क्लबले धर्म र संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भूमिका खेलेको छ। स्थानीय पर्व, जात्रा, धार्मिक तथा सांस्कृतिक कार्यक्रमको संरक्षण र व्यवस्थापनमा क्लबको निरन्तर संलग्नताले समुदायको पहिचान जोगाउन सहयोग पु¥याएको छ। स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा क्लबले स्वर्ण जयन्ती मनाउँदै विगतका योगदानको समीक्षा गरेको छ । आगामी दिनमा अझ प्रभावकारी सामाजिक सेवा गर्ने प्रतिबद्धता जनाएको छ । क्लबले सहयोगी संस्था, पूर्व तथा वर्तमान सदस्यहरू र स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै समाजप्रतिको जिम्मेवारीबाट कहिल्यै पछि नहट्ने प्रण गरेको छ।
पञ्चायती शासनकालको कठिन समयबाट सुरू भएको युथ कर्नर क्लबले ५०औँ स्वर्ण जयन्तिको अवसरमा भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्डको परिसरमा विभिन्न कार्यक्रम गरि मनाएको छ । कार्यक्रम मार्फत आगामी दिनमा पनि धर्म, संस्कृतिको रक्षा र जगेर्ना गर्दै सामाजिक कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ ।












