पशुपतिपरिसरमा ऐतिहासिक विश्वमेध महायज्ञ हुँदै
दीर्घकालीन शान्ति, समृद्धि, सद्भाव र जनकल्याणकाे प्रचार गर्ने र विश्वबन्धुत्वकाे भावना फैलाउने उद्देश्यले माघ २३ गतेदेखि फागुन ४ गतेसम्म हुन लागेको महायज्ञको तयारी श्रीविद्या साधक परिवार, नेपालले गरिरहेको जनाएकाे छ।
काठमाडाैं, माघ २० : पाशुपत क्षेत्रमा पहिलो पटक ‘विश्वमेध कोटि अर्चना महायज्ञ’ हुने भएकाे छ। परमपुज्य गुरुदेव श्रीमहेश चैतन्य ब्रह्मचारी महाराजको दिव्य सत्संग, तपस्या र मार्गदर्शनमा काठमाडाैँकाे पाशुपत क्षेत्रमा सम्पन्न हुने भएकाे हाे।
दीर्घकालीन शान्ति, समृद्धि, सद्भाव र जनकल्याणकाे प्रचार गर्ने र विश्वबन्धुत्वकाे भावना फैलाउने उद्देश्यले माघ २३ गतेदेखि फागुन ४ गतेसम्म हुन लागेको महायज्ञको तयारी श्रीविद्या साधक परिवार, नेपालले गरिरहेको जनाएकाे छ।
पाशुपत क्षेत्रलाई तन्त्रको साधनास्थली, शिवतत्त्व र आध्यात्मिक ऊर्जाको केन्द्र मानिने भएकाले विश्वमेध महायज्ञका लागि यही स्थल चयन गरिएको आयोजकको भनाइ छ।
विश्वमेध महायज्ञ साधारण धार्मिक कर्मकाण्ड मात्र नभई आगम शास्त्रले वर्णन गरेको अत्यन्त दुर्लभ, दीव्य र अद्वितीय यज्ञ रहेकाे धर्मशास्त्रीहरू बताउँछन्। ‘विश्व’ अर्थात् सम्पूर्ण जगत् र ‘मेध’ अर्थात् समर्पण तथा यज्ञीय संकल्प यी दुई शब्दको संयोजनबाट सम्पन्न हुने विश्वमेध यज्ञ सम्पूर्ण मानवजाति, प्रकृति र ब्रह्माण्डकै कल्याणका लागि गरिने विशेष अनुष्ठान मानिएकाे छ । आगम ग्रन्थहरूमा उल्लेख भएअनुसार यस्तो यज्ञ अति उच्च स्तरका साधक योगीहरुले मात्र सम्पादन गर्न सक्छन्।
सर्वभावमयभावमण्डलं विश्वशक्तिमयशक्तिबर्हिषि ।
जुह्वतो मम समोऽस्ति कोऽपरो विश्वमेधमययज्ञयाजिनः ।। -तन्त्रालोक
अनन्त शक्तिमय, सर्वोत्कृष्ट, स्वातन्त्र्यशक्तिरुपी महान् विश्वमेध यज्ञको सम्पादन गर्ने साधकले केवल जगदानन्द दशामा मात्र होइन अपितु बुद्धि प्रमातृ दशामा, विषय ग्रहणको समयमा, देहप्रमातृ भावमा र सम्पूर्ण सांसारिक अवस्थाहरूमा पनि उनै परभैरवलाई पुज्दछ, उनैलाई हवन गर्छ र उनैको ध्यान गर्छ । यसप्रकार सो साधकका लागि सबैथोक भैरवयाग नै हो भनिएकाे छ।
संवित्तिफलभेदोऽत्र न प्रकल्प्यो मनीषिभिः।
अर्थात् योगीहरूले भिन्नभिन्न उपायद्वारा भिन्नभिन्न फल प्राप्त हुन्छ भन्ने धारणा बनाउनु हुँदैन। भाव के हो भने उपायहरूमा पारस्परिक भेद भए तापनि फल सर्वथा एउटै प्राप्त हुन्छ । त्यो फल केवल पूर्ण भैरव अवस्था नै हो भनी विश्वमेध यज्ञको महत्तागान गरेको पाइन्छ।
महायज्ञका क्रममा विशेष यज्ञकुण्डमा आहुति, शान्तिपाठ, रुद्राभिषेक, महागणपति, सूर्य, नारायण, दक्षिणामूर्ति, कुमारी, बाराही आदिको विशेष अनुष्ठानका कार्यक्रम हुनेछन्। राष्ट्रको स्थायित्व, सामाजिक सद्भाव, नैतिक मूल्यको पुनर्जागरण, वातावरणीय सन्तुलन, प्राकृतिक विपद् न्यूनीकरण तथा विश्वशान्तिको कामनासहित विशेष संकल्पसाथ यज्ञ सम्पन्न गरिने जनाइएको छ।
श्रीविद्या साधक परिवारका अनुसार हाल विश्वव्यापी रूपमा देखिँदै आएको अशान्ति, द्वन्द्व, नैतिक पतन, प्रकृतिमाथिको अतिक्रमण र मानसिक असन्तुलन जस्ता समस्याको समाधान आध्यात्मिक चेतनाको पुनर्जागरणबाट मात्र सम्भव हुने विश्वासका साथ विश्वमेध महायज्ञ आयोजना गर्न लागिएको हो । यस यज्ञलाई कुनै जात, धर्म, वर्ग वा राष्ट्रको सीमाभित्र नबाँधी मानवमात्रको हित र विश्वकल्याणार्थ समर्पित अभियानका रूपमा अघि बढाइने आयाेजककाे भनाइ छ।
महायज्ञमा नेपालका विभिन्न भागसँगै भारतसहित अन्य देशबाट पनि साधक, सन्यासी, विद्वान् ब्राह्मण, धर्मगुरु तथा श्रद्धालुहरूको सहभागिता रहने अपेक्षा गरिएको छ । यसले नेपाललाई पुनः एक पटक वैदिक परम्परा, तपस्या र आध्यात्मिक साधनाको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।
आयोजनाका लागि आवश्यक पूर्वतयारी, यज्ञमण्डप निर्माण, यज्ञकुण्ड व्यवस्थापन, आवास, सुरक्षाका साथै व्यवस्थापनसम्बन्धी कार्यहरूकाे तयारी अन्तिम चरणमा पुगेकाे आयोजक पक्षले जनाएको छ। साथै महायज्ञ अवधिभर भक्तजन तथा साधकहरूको सहज सहभागिताका लागि आवश्यक समन्वय गरिने बताइएको छ।
श्रीविद्या साधक परिवार, नेपालले देशविदेशमा रहेका सबै धर्मप्रेमी, साधक, विद्वान्, बुद्धिजीवी तथा आम नागरिकलाई विश्वमेध महायज्ञमा सामेल भई राष्ट्र, समाज र विश्वकल्याणको साझा संकल्पमा सहभागी हुन हार्दिक आह्वान गरेको छ।












