स्वरूप परिवर्तन तथा ध्वनी प्रदूषण गर्ने १२ मोटरसाइकल नियन्त्रणमा
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठूलो आवाज आउने, साइलेन्सर तथा अन्य पाट्र्स परिवर्तन गरी सवारी साधन चलाइएको भन्ने जनगुनासो प्राप्त भएपछि विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो।
हेटौंडा, माघ १९ : हेटौंडा बजार क्षेत्रमा स्वरूप परिवर्तन गरी तथा अत्यधिक ध्वनी प्रदूषण गर्ने १२ वटा मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मिति २०८२ साल माघ १७ र १८ गते मोटरसाइकलबाट अस्वाभाविक ठूलो आवाज आउने, साइलेन्सर तथा अन्य पाट्र्स परिवर्तन गरी सवारी साधन चलाइएको भन्ने जनगुनासो प्राप्त भएपछि विशेष चेकिङ अभियान सञ्चालन गरिएको थियो।
जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहत ट्राफिक प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न ब्राण्डका १२ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो। ती मोटरसाइकललाई यातायात व्यवस्था ऐन, २०४९ को दफा ३९ बमोजिम कसुरमा आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय हेटौंडा पठाइएको प्रहरीले जनाएको छ।
प्रचलित कानुनअनुसार सवारी साधनको स्वरूप परिवर्तन,अवैध साइलेन्सर प्रयोग तथा ध्वनी प्रदूषण गर्ने गरी सवारी चलाएमा कसुरको प्रकृति अनुसार रु. ५ सयदेखि रु. ५ हजारसम्म जरिवाना, सवारी साधन अस्थायी रूपमा नियन्त्रण (होल्ड ) तथा मूल स्वरूपमा फर्काएपछि मात्र फिर्ता गरिने व्यवस्था रहेको ट्राफिक प्रहरीले जानकारी दिएको छ। आवश्यकता अनुसार दोहोरिएको कसुरमा थप कडा कारबाहीसमेत हुने जनाइएको छ।