प्रहरीको अनुहार र व्यवहारमा नागरिकले आफ्नो सरकार देख्छनः प्रधामन्त्री कार्की
‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु। कानूनको सहि कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ,’ उनले भनिन्।
काठमाडौं, माघ १९ : प्रधानमन्त्री सुशिला कार्कीले नागरिकले आफ्नो सरकार प्रहरीको अनुहार र व्यवहारमा देख्ने बताएकी छन्।
सोमबार काठमाडौंमा आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३ औं समूहको सपथ ग्रहण समारोहमा उनले प्रहरीहरुको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने भन्दै सबै जनाले कानूनभन्दा माथि कोही पनि नहुने कुरा सधैँ सम्झिनु पर्ने बताइन्।
नागरिकले आफ्नो सरकार तपाईंहरुको अनुहार र व्यवहारमा देख्नेछन्। तपाईको निर्णय र आचरणले राज्यप्रतिको धारणा जनताले बनाउने छन्। त्यसैले तपाईहरुले सधैँ सम्झिनु होला कानूनभन्दा माथि कोही पनि छैन् तर कानून कार्यान्वयन गर्ने जिम्मा पाएका अधिकृतहरुमा शिष्टचार र मानवताको धारणा पनि हुनुपर्छ। न्यायको यात्राको प्रथम ढोका नै तपाईहरु हो,’ उनले भनिन।
उनले अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक भयो भने मात्र कानूनको सहि कार्यान्वयन सम्भव हुने भन्दै यो कुरा न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा नजिकबाट देखेको बताइन्।
‘न्यायपालिकामा लामो समय सेवा गर्ने क्रममा मैले नजिकबाट देखेको छु। कानूनको सहि कार्यान्वयन तब मात्र सम्भव हुन्छ जब अनुसन्धान निष्पक्ष, इमान्दार र व्यवसायिक हुन्छ,’ उनले भनिन्।
सोही क्रममा गृहमन्त्री ओम प्रकाश अर्यालले आज लिएको सपथका शब्दहरुलेसधैँ जिम्मेवारी बोध गराइ रहने विश्वास व्यक्त गरेका छन्।
अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण, व्यवहार, शिक्षा, कला र कौशल सबै प्राप्त गरेर सपथ ग्रहणको तहसम्म पुगेको पनि उनको भनाई छ।
‘आज तपाईहरुले लिनु भएका सपथका शब्दहरुले तपाईहरुलाई सधैँ जिम्मेवारी बोध गराइ रहने छ भन्ने विश्वास लिएको छु। सपथका शब्द र मर्म तपाईहरुको व्यवहार मार्फत सार्थक बनोस, अनुशासित संगठनको सदस्यको रुपमा पालना गर्नुपर्ने आचरण व्यवहार शिक्षा कला र कौशल तपाईहरुले प्राप्त गरि सक्नु भएको छ,’ उनले भने।












