‘कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको कोशेढुङ्गा’
जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा छन्।-1770025897.jpg)
काठमाडौं, माघ १९ : राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव हाम्रो द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन्।
उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएका हुन्।
जापानको औपचारिक भ्रमणमा रहनुभएका राष्ट्रपति पौडेलसँग जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले आज यहाँ गर्नुभएको शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरे । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा यहाँको चार दिने भ्रमणमा छन्।
‘जापानले नेपाललाई द्विपक्षीय अनुदान, द्विपक्षीय ऋण, बहुपक्षीय सहायता र प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जर्गेनाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझैँ लाभान्वित हुन चाहन्छौं’, भेटमा राष्ट्रपति पौडेलको भनाई उद्यृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिको क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे।
‘नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं’, राष्ट्रपति पौडेलले भने।
साँस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उनले लुम्बिनीको विकासमा जापानको सहयोगप्रति आभार प्रकट गरे। राष्ट्रपति पौडेलले जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्धिपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्धत पु¥याएको उनको भनाइ थियो।
सो अवसरमा जापानका परराष्ट्र राज्यमन्त्री होरी इवाओले भदौ २३ र २४ गते भएको प्रदर्शनीपछि राष्ट्रपति पौडेलले संविधान र लोकतन्त्रको रक्षाका लागि खेल्नुभएको भूमिकाप्रति देशबाहरि पनि अत्यन्त प्रशंसा भएको बताउँदै नेपालमा शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधै सहयोग गर्ने बताएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।
राज्यमन्त्री होरी इवाओले नेपालको शान्ति भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै शान्ति र स्थायित्वका लागि फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न होस भन्ने जापानले चाहेको पनि बताएका थिए।
यसैगरी उनले जापानले नेपालको विकासमा निरन्तर सहयोग जारी राख्ने बताउँदै बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको पुननिर्माण र कोटेश्वर जाम अन्त्य गर्न आवश्यक अण्डर पास निर्माण गर्ने जापानले निर्णय गरिसकेको पनि जानकारी दिए।












