दिल्लीबाट एम्बुलेन्समै आएका थिए चितवनका संक्रमित दम्पती
चितवन, जेठ ९ : चितवनका दुई जना कोरोना संक्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ।
दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्स....

चितवन, जेठ ९ : चितवनका दुई जना कोरोना संक्रमित भारतको दिल्लीबाट एम्बुलेन्समा आएको खुलेको छ।
दिल्लीस्थित राजीव गान्धी अस्पतालमा क्यान्सरको उपचार गराएर उनीहरु जेठ ३ गते एम्बुलेन्स परिवर्तन गरी घर फर्किएको खुलेको हो। भरतपुर महानगरपालिका–६ केशरबाग निवासी ७४ वर्षीय पुरुष र ७३ वर्षीया महिलामा शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुसँगै दिल्ली गएका जेठो छोरामा भने संक्रमण देखिएको छैन।
उनीहरु भारतबाट एम्बुलेन्समा कपिलवस्तुको कृष्णनगर नाकाबाट स्वदेश प्रवेश गरेका थिए। उनीहरु घर आएदेखि नै सेल्फ क्वारेन्टिनमा बसेका थिए। संक्रमण देखिएपछि भरतपुर महानगरपालिकाको स्वास्थ्य शाखाले कन्टयाक्ट ट्रेसिङ गरेको छ। संक्रमितको प्रत्यक्ष सम्पर्कमा आफ्नै परिवारबाहेक अन्य कोही पनि सम्पर्कमा नआएको स्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीले जानकारी दिए। उनका अनुसार संक्रमितको घरमा आठ जना मात्रै बस्दै आएका थिए। उनीहरुको एक सातापछि पिसीआर विधिबाट कोरोना परीक्षण गरिने जनाइएको छ।
अहिले सङ्क्रमित देखिएको टोललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। प्रहरीले सो टोलमा आवातजावत गर्न बन्देज लगाएको छ। संक्रमित बिहीबार आफैँ परीक्षण गर्न भरतपुर कोरोना अस्पताल पुगेका थिए। उनीहरुमा संक्रमण पुष्टि भएसँगै अहिले भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचार भइरहेको छ।











