माधव नेपालको मुद्दामा साक्षी बुझ्ने विशेष अदालतको आदेश
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो।
काठमाडौं, माघ १८ : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा विशेष अदातलले साक्षी बुझ्ने आदेश गरेको छ।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले सरकार र प्रतिवादीको साक्षी बुझ्ने आदेश दिएको हो।
यसअघि विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश हेमन्त रावलको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव नेपाल लगायतमाथि अनुसन्धान गरेर तामेलीमा राख्ने निर्णयको फाइल झिकाएको थियो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा नेपालसहित ९३ जनालाई प्रतिवादी बनाएर विशेष अदालतमा जेठ २२ गते मुद्दा दायर गरेको थियो।
नेपालविरुद्ध अख्तियारले १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी गरिएको छ । नेपाल रौतहट (१ बाट २१ फागुनको निर्वाचनका लागि उम्मेदवार भएका छन्।
तत्कालीन प्रधानमन्त्रीको हैसियतमा नेपालले पदको दुरुपयोग गर्दै सरकारी सार्वजनिक सम्पत्ति व्यक्तिगत र संस्थागत स्वार्थमा हस्तान्तरण गराएको तथा भ्रष्टाचारजन्य कार्यमा संलग्न भएको आरोप अख्तियारको आरोपपत्रमा उल्लेख छ।












