Kathmandu Press

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो। 
हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ, माघ १७ : भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने (कागबेनी–कोरला) सडकको बाक्लो हिउँ पन्छ्याउन सुरु भएको छ । शुक्रबारदेखि कोरलानाका जोड्ने सडकको हिउँ पन्छ्याउन सुरु गरिएको हो।

अवरुद्ध नेपाल–चीन जोड्ने कोरला सडकअन्तर्गत आज बिहानदेखि हिउँ पन्छाएर लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइएको छ। 

जिल्ला प्रशासन कार्यालयसहित लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको संयुक्त पहलमा कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाको उपकरण प्रयोग गरी मुस्ताङको छुसाङदेखि लोमान्थाङसम्म सडकको हिउँ सफा गरिएको हो। 

Hardik ivf

लोमान्थाङदेखि कोरलानाकासम्मको २५ किलोमिटर सडकको हिउँ पन्छ्याउने काम भइरहेको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी)का सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठले जानकारी दिए। उनका अनुसार करिडोर सडकको उपकरणसहित सशस्त्र प्रहरी टोलीले कोरला नाका सडकको हिउँ पन्छ्याउन जुटेको जानकारी दिए।

यसअघि मङ्गलबार राति माथिल्लो मुस्ताङमा भारी हिमपात हुँदा कागबेनी–कोरला सडकमा दुई फिटभन्दा बढी हिउँ जमेको थियो। सोही कारण जोमसोम–कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुन पुगेको थियो। 

भारी हिमपातका कारण माथिल्लो मुस्ताङको कोरला सडक अवरुद्ध हुँदा स्थानीय नागरिक, सुरक्षाकर्मी, पर्यटक, व्यापारीहरु र निर्वाचनका लागि मतदान केन्द्र तथा मतदानस्थलको अनुगमनकार्य खटिएकाहरुलाई कठिनाइ भइरहेको छ।

हिमपातले अवरुद्ध कोरला सडकलाई जतिसक्दो छिटोछरितो रुपमा सञ्चालनमा ल्याउने गरी आयोजनाले दुई वटा डोजर एकैसाथ तल र माथि परिचालित गरी लोमान्थाङसम्मको सडक सञ्चालनमा ल्याइसकेको र लोमान्थाङदेखि कोरलानाकासम्म सडकको हिउँ पन्छाउनु सुरु गरिएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए। 

सडक अवरुद्धका कारण माथिल्लो मुस्ताङको जनजविन प्रभावित बनेकोमा शनिबारदेखि माथिल्लो क्षेत्रको जनजिवन सामान्यीकरण बन्दै गएको आयोजना प्रमुख शर्माको भनाइ छ। अवरुद्ध सडक सञ्चालनमा आइसकेकाले माथिल्लो मुस्ताङमा खाद्यान्न ढुवानी गर्न सहज भएको आयोजना प्रमुख शर्माले बताए।

हिमपातले अवरुद्ध माथिल्लो मुस्ताङस्थित लोमान्थाङ सडकसम्मको सडक सञ्चालनमा आइसकेको छ। लोमान्थाङदेखि कोरला नाकासम्मको २५ किलोमिटर दूरीमा रहेको सडकको हिउँ पन्छाउने काम शनिबारदेखि सुरु गरिएको आयोजनाले जनाएको छ। 

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, माघ १७, २०८२
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्