अक्षरा लाेकदाेहाेरी साँझमा लाेक कलाकार सम्मानित
अक्षरा लाेकदाेहाेरी साँझमा लाेकप्रिय गायक तथा कार्यक्रमका अतिथि घमेश दुलाल र आशा लामा ज्ञानमालाले आआफ्नाे भाका सुनाएका थिए। विद्यार्थीहरूकै पूर्ण सहभागितामा आयाेजित अक्षरा लाेकदाेहाेरी साँझ नेपालमै पहिलाे भएकाे भन्दै उनीहरूले विद्यार्थीकाे मुक्तकण्ठले प्रशंसा गरेका थिए।
काठमाडाैं, माघ १७ : पहिलाे अक्षरा स्कुल लाेकदाेहाेरी साँझमा राष्ट्रिय स्तरका लाेक कलाकारलाई सम्मान गरिएकाे छ। विद्यालयकाे निम्न माध्यमिक तहका विद्यार्थीहरूकाे सक्रिय सहभागितामा शुक्रबार साँझ भएकाे दाेहाेरी साँझ कार्यक्रम हजाराैँ गीतमा स्वर भरिसकेका राष्ट्रिय स्तरका दिग्गज लाेक कलाकार घमेश दुलाल र आशा लामा ज्ञानमालालाई सम्मान गरिएकाे हाे।
नेपाली र सामाजिक विभागकाे निर्देशनमा विद्यालयपरिसरमै भएकाे पहिलाे अक्षरा लाेकदाेहाेरी साँझमा विद्यार्थी, शिक्षकशिक्षिका र अभिभावकहरू झुमीझुमी नाचेका थिए । विद्यार्थी आफैँले आयाेजना र सञ्चालन गरेकाे कार्यक्रममा वैदेशिक राेजगार नेपाली समाजकाे समस्या भएकाे विषय उठाएका थिए।
स्वर्गीय तीर्थबहादुर गन्धर्वकाे बल्ल पर्याे निर्माया माकुरी जालैमा भाकालाई विद्यार्थीहरूले बल्ल पर्याे निर्माया विदेशी जालैमा र बल्ल पर्याे निर्माया स्वदेशी जालैमा बाेलमार्फत विभिन्न समस्या प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले लाेकभाकामा स्वर भर्दै वैदेशिक राेजगार छाेडाैँ र स्वदेशमै केही गराैँ, एक छाक मकै र एक छाक भाेकै भए पनि स्वदेशमै बसेर आफ्नै डाेकाे बाेकेर जीवन बिताऔँ, एक थाेपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाऔँ, नेपाली हामी रहन्छाैँ कहाँ नेपालै नरहे…जस्ता सन्देश दिँदै राष्ट्रिय प्रेम दर्साएका थिए । त्यस्तै सुरिलाे लाेकभाकामार्फत नै विद्यार्थीहरूले वैदेशिक रोजगारीबाट आर्थिक रूपले परिवार बलियो बन्न त सक्छ तर यसले भावनात्मक रूपमा लामाे दूरी सिर्जना गर्ने भएकाले स्वदेशमै बसी केही गराैँ भन्ने भाव पाेखेका थिए।

स्वदेशमा काम नपाइने, खेतबारी धिताे राखी ऋण काढेर विदेश जानुपर्ने, बचेकाे खेतबारी पनि बाँझिने, विदेशमा पनि काम गर्दा गाह्राे हुने, घरमा बालबच्चा, राेगाएका बुढा बाआमा र श्रीमान् या श्रीमतीले एक्लाे जीवन बिताउनुपर्ने, पारिवारिक बिछाेडले दसैँतिहारजस्ता चाडपर्व खल्लाे लाग्नेलगायत थुप्रै समस्याहरू लाेकभाकामा जाेडेका थिए। त्यस्तै नेताहरूकाे भ्रष्टाचारका कारण बेराेजगारीकाे सङ्ख्या बढेकाे र त्यही बेराेजगारी समस्याले वैदेशिक राेजगारमा जानुपर्ने बाध्यता सिर्जना गरेकाे तिताे सत्यलाई पाेख्दै भ्रष्टाचार राेक्न बलिदानी दिनुपर्ने भाकामा समेटेका थिए। सुरिलाे भाकामार्फत नै उपस्थित सबैलाई आफ्ना सन्ततिलाई वैदेशिक राेजगारमा नपठाउन विद्यार्थीले अनुराेधसमेत गरेका थिए।
कार्यक्रममा लाेकप्रिय गायक तथा कार्यक्रमका अतिथि घमेश दुलाल र आशा लामा ज्ञानमालाले आआफ्नाे भाका सुनाएका थिए। लाेकभाकासँगै समाजका गतिविधि, संस्कृति, सबैमा माैलिकता ल्याउनुपर्ने र नयाँ पुस्तामा लाेकभाका हस्तान्तरण गर्नुपर्ने बताएका थिए । विद्यार्थीहरूकै पूर्ण सहभागितामा आयाेजित अक्षरा लाेकदाेहाेरी साँझ नेपालमै पहिलाे भएकाे भन्दै उनले विद्यार्थीकाे मुक्तकण्ठले प्रशंसा गरेका थिए।
त्यस्तै आशा लामा ज्ञानमालाले नयाँ पुस्तामा हाम्राे लाेक संस्कृति, लाेकभाका हराउँदै गएकाले विद्यालयस्तरबाटै सिकाउनुपर्ने महसुस भएकाे बताएकी थिइन् । उनले पनि अक्षरा स्कुल व्यवस्थापन, शिक्षकशिक्षिका र विद्यार्थीकाे खुलेर प्रशंसा गर्न भ्याइन् । विद्यालय स्तरमा पहिलाे कार्यक्रम भएकाले निरन्तरता दिन र त्यसमा आफू सहयाेग गर्न तत्पर रहेकाे बताएकी थिइन्।

कार्यक्रमकाे अन्त्यमा लाेक कलाकारद्वय घमेश दुलाल र आशा लामालाई सम्मान गर्दै विद्यालयकी संस्थापक निर्देशक अन्जु भट्टराईले शिक्षण सिकाइका क्रममा संस्कार र संस्कृतिकाे पनि संरक्षण गर्दै जानुपर्ने धारणा राखेकी थिइन् । नेपाली कला, संस्कृति र परम्पराको जगेर्ना गर्दै विद्यार्थीमा सिर्जनशीलता, आत्मविश्वास र सांस्कृतिक चेतना विकासको उद्देश्य राखी कलाकार सम्मान तथा अक्षरा लोकदोहोरी साँझ आयाेजना गरेकाे उनकाे भनाइ थियाे।
उनले कुनै पनि जाति, समुदाय वा भूभागको सांस्कृतिक भावनालाई अभिव्यक्त गर्ने मौलिक गीत लाेकभाका भएकाले विद्यार्थीलाई सिकाउनु वा नयाँ पुस्तामा हस्तान्तरण गर्नु हामी सबैकाे दायित्व भएकाे भन्दै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् । साथै विद्यालयस्तरमा लाेकदाेहाेरी साँझ पहिलाे भएकाले यसलाई निरन्तरता दिँदै माैलिक संस्कारकाे संरक्षणमा लागिपर्ने प्रतिबद्धता जनाइन्।












