गल्याङले जित्यो प्रथम खुमा अर्याल कपको उपाधि
स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न सो रनिङ शिल्डको पहिलो उपाधि गल्याङले हात पारेको हो । गल्याङले उपाधि दाबेदार मानिएको वालिङलाई १० विकेटले पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।
काठमाडौं, माघ १५ : गल्याङ नगरपालिकाले प्रथम खुमा अर्याल कप टि ट्वान्टी क्रिकेट लिग स्याङ्जा जिल्ला अन्तर पालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता २०८२ को उपाधि जितेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेलमैदानमा सम्पन्न सो रनिङ शिल्डको पहिलो उपाधि गल्याङले हात पारेको हो । गल्याङले उपाधि दाबेदार मानिएको वालिङलाई १० विकेटले पराजित गर्दै उपाधि सुरक्षित गरेको हो ।
वालिङलाई रोक्दै गल्याङले रनिङ शिल्ड सहित नगद २ लाख रुपिया साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । यस्तै, उपविजेतामा चित्त बुझाएको वालिङले नगद १ लाख ५० हजार, तृतिय भएको चापाकोटले नगद १ लाख र सान्त्वना भएको हरिनाश गाउँपालिकाले नगद ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतिकुल मौसमका कारण २० ओभरको खेललाई ७ ओभरमा झारिएको थियो । खेलमा गल्याङले वालिङ नगरपालिकाले दिएको ४० रनको विजयी लक्ष्य बिना कुनै विकेटको क्षतिमा ३ दशमलब १ ओभरमै भेट्टायो । गल्याङका लागि दिपक प्रसाद डुम्रेले ९ बलमा १ छक्का र ३ चौका सहित २३ रन बनाएका थिए भने इसान पाण्डेले १० बलमा १३ रन जोडेका थिए ।
गल्याङका इशान पाण्डे, तुलसीराम भण्डारीले समान २/२ विकेट लिए भने विपिन खत्री, सन्दिप खत्री, दिपक प्रसाद डुम्रेले समान १/१ विकेट लिएका थिए । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट ८ र १ जना सबैभन्दा कम उमेरका खेलाडीले जनही नगद १० हजार रुपियाँ प्राप्त गरेका छन भने १० हजार बराबरकै गण्डकी मेडिकल कलेजमा होल बडि चेकअफ निशुल्क प्राप्त गर्ने आयोजक खुमा अर्याल फाउन्डेसन स्याङ्जाले जनाएको छ ।
समापन कार्यक्रममा भएको सास्कृतिक कार्यक्रम एवम् साङ्गितिक कार्यक्रममा राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु लोक तथा दोहोरी गायक पशुपती शर्मा, गायिका सम्झना भण्डारी, गायक घनश्याम रिजाल, भजन गायक शिव शर्मा, डान्सर सगुन थापा र विक्रम संवतको प्रस्तुति रहेको थियो । प्रतियोगिताको आयोजना खुमा अर्याल फाउन्डेसन स्याङ्जाले गरेको हो भने सह-आयोजकमा पुतलीबजार नगरपालिका स्याङ्जा रहेको हो ।
यस्तै, खेलको सबै प्राविधिक संयोजन स्याङ्जा जिल्ला क्रिकेट संघ स्याङ्जाले गरेको हो भने समन्वयकारी भुमिका जिल्ला खेलकुद विकास समिति स्याङ्जाले गरेको थियो ।












