निर्वाचन धाँधलीरहित बनाउन सरकार गम्भीर हुनुपर्छ : सभापति शर्मा
‘हाम्रो लक्ष्य, उद्देश्य र दृष्टिकोण के हो भन्नेभन्दा पनि अहिले हावाको बहाव अर्कैतिर गइरहेको देखिन्छ, फागुन २१ गते हुन गैइरहेको प्रतिनिधिसभा निर्वाचनलाई हामीले धाँधलीरहित बनाउनुपर्ने छ। निष्पक्ष बनाउने गर्यौं भने अझै उपयुक्त हुन्छ । अहिले राजनीतिक संगठन, संघर्ष भन्दा पनि स्टन्टबाजी चलिरहेको छ,’ उनले भने।
काठमाडौं, माघ १४ : सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले आउँदो फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन सरकार गम्भीर हुनुपर्ने बताएका छन्।
बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सभापति शर्माले निष्पक्ष निर्वाचन सम्पन्न गरिनु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गरे। उनले हाल राजनीतिक संगठन र विचारभन्दा पनि ‘स्टन्टबाजी’ हावी हुँदै गएको भन्दै यसले देशलाई गलत दिशातर्फ लैजान सक्ने चिन्ता व्यक्त गरे।
‘हाम्रो लक्ष्य, उद्देश्य र दृष्टिकोण के हो भन्नेभन्दा पनि अहिले हावाको बहाव अर्कैतिर गइरहेको देखिन्छ, फागुन २१ गते हुन गैइरहेको प्रतिनिधिसभा निर्वाचनलाई हामीले धाँधलीरहित बनाउनुपर्ने छ। निष्पक्ष बनाउने गर्यौं भने अझै उपयुक्त हुन्छ । अहिले राजनीतिक संगठन, संघर्ष भन्दा पनि स्टन्टबाजी चलिरहेको छ,’ उनले भने।
शर्माले जेन–जी आन्दोलनका कारण कैदी भाग्ने, हतियार लुटिने जस्ता घटनाहरू भएको उल्लेख गर्दै यसले निर्वाचनमा धाँधली हुनसक्ने जोखिम बढाएको बताए। यस्तो अवस्थालाई ध्यानमा राख्दै सरकारले निर्वाचनलाई कसरी धाँधलीरहित र निष्पक्ष बनाउने भन्ने विषयमा गम्भीरतापूर्वक सोच्नुपर्ने उनको धारणा थियो।
‘एकातिर जेनजी आन्दोलनले गर्दा कैदीहरु भागेको अवस्था छ, हतियारहरु लुटिएका छन् यसले गर्दा कतै निर्वाचन धाँधली बनाउँछ की भन्ने लागिरहेको छ। यसलाई सरकारले गम्भिरतापूर्वक सोच्न र धाँधलीरहित कसरी बनाउने, निष्पक्ष कसरी बनाउने भन्नेतिर बढी सोच्नुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भने।