‘अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन’
अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए। उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई क्षति पुगे पनि अहिले तन्दुरुस्त भएर अघि बढेको दाबी गरे।
काठमाडौं, माघ १३ : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी कुनै पनि हालतमा अन्य दलसँग विलय नहुने स्पष्ट पारेका छन् ।
उज्यालो नेपाल पार्टीको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष घिसिङले पार्टी गठन भएको तीन महिना पनि पूरा नहुँदै विभिन्न चुनौती सामना गर्नुपरेको बताए। उनले पार्टी १२ दिनसम्म ‘कोमा’मा पुगेको जस्तो अवस्था आएको उल्लेख गर्दै त्यसबाट पार्टीलाई क्षति पुगे पनि अहिले तन्दुरुस्त भएर अघि बढेको दाबी गरे।
‘उज्यालो नेपाल पार्टी गठन भएको तीन महिना पनि पूरा भएको छैन। तीन महिना पूरा हुँदै गर्दा हामी १२ दिन कोमामा पुग्यौं । त्यसले धेरै घाटा भयो, तर अहिले हामी त्यही कोमाबाट तन्दुरुस्त भएर आएका छौं। अब उज्यालो नेपाल पार्टी यो देशको नेतृत्व गर्न अगाडि बढ्छ,’ उनले भने।
अध्यक्ष घिसिङले पार्टीको चुनाव चिन्ह ‘बलिरहेको चिम’ रहेको उल्लेख गर्दै उक्त चिन्ह निरन्तर र अनन्तकालसम्म बलिरहने दाबी गरे।
कार्यक्रममा उनले पार्टीको पहिचान र अस्तित्व जोगाउने विषयमा दृढ अडान व्यक्त गर्दै भने, ‘कुनै पनि सर्तमा उज्यालो नेपाल पार्टी कुनै पनि पार्टीसँग मिसिँदैन। पार्टीको नाम र चिन्ह कुनै पनि हालतमा विलय हुन दिइने छैन । अरु पार्टी उज्यालो नेपाल पार्टीमा मिसिन आउन सक्छन्, तर यो पार्टी कसैसँग मिसिन जाने छैन।’
उनले उज्यालो नेपाल पार्टी देशको समग्र क्षेत्रलाई उज्यालो बनाउने उद्देश्यका साथ निरन्तर रूपमा अगाडि बढ्ने बताए। उज्यालो नेपाल पार्टी यसअघि १२ दिनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा समाहित भई पछि अलग भएको थियो।










![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)
