सरकारको संसदप्रतिको दृष्टिकोण गलत छ : सांसद भट्टराई
उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्रायः बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए।
काठमाडौं, माघ १३: नेकपा एमालेका सांसद गोपाल भट्टराईले सरकारको संसदप्रतिको दृष्टिकोण गलत रहेको आरोप लगाएका छन्।
मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले सरकारले कामको सुरुवातमै संसदमाथि हस्तक्षेप गरेको आरोप लगाउँदै संसदीय दलका कार्यालयहरू प्रायः बन्द रहेको, कर्मचारी हटाइएको र विधायकी कार्यका लागि आवश्यक जनशक्ति अभाव भएको बताए।
‘यो सरकारले कामको सुरुवातमै संसदमाथिको हस्तक्षेपबाट सुरु गरेको छ। संसदीय दलका कार्यालयहरु बन्द प्राय छन्। कर्मचारीहरु हटाइएका छन्। विधायकी कार्यको लागि जनशक्तिको अभाव छ, जनशक्ति बिनाको विधायकी कार्य सांसदले कसरी गर्न सक्छन्?,’ उनले भने।
अहिले चुनावी प्रक्रिया अघि बढिरहेकाले आगामी बैठकहरू प्रभावित हुन सक्ने सम्भावना रहेको उल्लेख गर्दै त्यसतर्फ पनि सदनको ध्यान जानुपर्ने बताए ।
‘अहिले चुनावी प्रक्रिया अगाडि बढेको छ, हामी पार्टीबाट प्रतिनिधित्व गर्छौं। चुनावमा पनि हाम्रो भूमिका रहन्छ त्यसकारण अबका बैठकहरू प्रभावित हुन सक्ने सम्भावना पनि छ त्यसतर्फ ध्यान जान जरुरी छ,’ उनले भने।
उनले संसदमा हस्तक्षेप गरेर संसद सञ्चालन हुन नसक्ने भन्दै सरकारको संसदप्रतिको दृष्टिकोण नै गलत रहेको दाबी गरे।
‘यो सरकारले संसदलाई हस्तक्षेप गरेर यो संसद कसरी चल्छ? त्यसैले सरकारको संसदप्रतिको दृष्टिकोण गलत छ,’ उनले भने।












