‘संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
उनले निर्वाचन क्षेत्रमा समस्या आउन नदिन तल्लो तहका निर्वाचन अधिकारी, सुरक्षाकर्मी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतहरू सक्रिय रूपमा परिचालित रहेको उल्लेख गरे।
काठमाडौं, माघ ११ : प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) उद्घाटन भएको छ।
आइतबार एक कार्यक्रमकाबीच संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन गरिएको निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै भण्डारीले निर्वाचनका क्रममा उत्पन्न हुन सक्ने कुनै पनि समस्यालाई तक्षणमै पहिचान गरी समाधान गर्न केन्द्र पूर्ण रूपमा तयारी अवस्थामा रहेको बताए।
उनले निर्वाचन क्षेत्रमा समस्या आउन नदिन तल्लो तहका निर्वाचन अधिकारी, सुरक्षाकर्मी, मतदान अधिकृत तथा निर्वाचन अधिकृतहरू सक्रिय रूपमा परिचालित रहेको उल्लेख गरे। उनका अनुसार ती निकायबाट समाधान हुन नसकेका समस्याहरू संयुक्त निर्वाचन सञ्चालन केन्द्रमार्फत तत्काल समाधान गरिनेछ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ संयुक्त निर्वाचन सञ्चालन केन्द्र उद्घाटन भएको छ। यसले कुनै पनि निर्वाचन क्षेत्रमा कुनै पनि समस्या आयो भने तक्षणमै पहिचान गरेर त्यो समस्याको समाधान गर्ने कार्यमा एकदम दत्तचित्त भएर लाग्छ। कुनै पनि समस्या हुनै नदिन निर्वाचन अधिकारीहरु, सुरक्षामा खटिएका कर्मचारीहरु र निर्वाचनमा खटिएका मतदान अधिकृत, निर्वाचन अधिकृत सबै साथिहरु त्यहाँ हुनुहुन्छ। उहाँहरुले समाधान गर्नु हुन्छ। यदी त्यहाँबाट समाधान हुन सकिएन भने संयुक्त निर्वाचन सञ्चालन केन्द्रले तुरुन्त समाधान गर्छ,’ उनले भने।
भण्डारीले जेइओसीबाटै निर्णय आवश्यक पर्ने विषयमा आयोगलाई तुरुन्त जानकारी गराइने र प्राप्त सूचनाका आधारमा आयोगले वस्तुस्थिति बुझेर आवश्यक निर्णय गरी समस्या समाधान गर्ने बताए।
‘जेइओसीको बाट कुनै त्यस्तो आयोगबाट निर्णय गरेर समस्या समाधान गर्नुपर्ने विषय भयो भने तुरुन्तै आयोगलाई सूचना दिन्छ। त्यहीँ सूचनाको आधारमा त्यहाँ भएको वस्तुस्थिीलाई बुझेर समस्या समाधान गर्न आयोगले निर्णय गर्छ,’ उनले भने।
उनले संयुक्त निर्वाचन सञ्चालन केन्द्रले निर्वाचनलाई व्यवस्थित, सुरक्षित र निष्पक्ष बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।












