अभ्यास खेलमा श्रीलंका एमाथि नेपालको जित
शेर मल्ल बलिङमा र कुशल भुर्तेल ब्याटिङमा चम्किएपछि शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हरायो।
काठमाडाैं, माघ १० : टि–२० विश्वकपको तयारीमा रहेको नेपाली पुरुष क्रिकेट टोलीले श्रीलंका ‘ए’ सँगको तेस्रो तथा अन्तिम अभ्यास टि–२० खेल जितेको छ ।
शेर मल्ल बलिङमा र कुशल भुर्तेल ब्याटिङमा चम्किएपछि शनिबार भएको खेलमा नेपालले श्रीलंका ‘ए’ लाई ७ विकेटले हरायो। यसअघिका दुई खेल जित्दै श्रीलंका एले सिरिज भने जितसकेको थियो।
श्रीलंका ‘ए’ ले दिएको १३३ रनको लक्ष्य नेपालले १६.२ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४९ रन बनाए। आरिफ शेखले अविजित २४ तथा दीपेन्द्रसिंह ऐरीले अविजित २२ रन बनाए । कप्तान रोहित पौडेलले १७ रन बनाए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंका ‘ए’ ले २० ओभरमा ८ विकेट गुमाएर १३२ रन बनाएको थियो। चमिका करुणारत्नेले सर्वाधिक ३८ रन बनाइ । निरोशन डिक्वेलाले ३३ रन बनाए।
नेपालका लागि शेर मल्लले ४ ओभरमा २० रन दिएर ४ विकेट लिए। दीपेन्द्रसिंह ऐरीले २ तथा नन्दन यादव र रोहित पौडेलले १(१ विकेट लिए ।
अब नेपाली टोली अब भारत जानेछ। भारतमा मुम्बईको एमसीए प्रेसिडेन्ट ११ सँग पनि दुई अभ्यास खेल खेल्ने तालिका छ।
टि–२० विश्वकप फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा सुरु हुँदैछ। नेपालले सबैखेद मुम्बईमा वानखेडेमा खेल्ने छ।












