उम्मेदवारका लागि बैंक खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।
काठमाडौं, माघ १० : निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारका लागि बैंकिङ खाता सञ्चालनको व्यवस्था मिलाइदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेको छ ।
आयोगले केन्द्रीय बैंकलाई पत्राचार गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने र खर्च गर्ने जिम्मेवार पदाधिकारी तोक्नुपर्ने कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सहजीकरण गर्न आग्रह गरेको हो।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ बमोजिम जारी निर्वाचन आचारसंहिता, २०७३ को दफा १६ अनुसार उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्थामा खोलिएको छुट्टै खाताबाट मात्र गर्नुपर्ने व्यवस्था छ।
त्यस्तै, राजनीतिक दलले पनि निर्वाचनसम्बन्धी खर्चका लागि छुट्टै बैंक खाता खोली दलले तोकेको जिम्मेवार पदाधिकारीमार्फत खर्च गर्नुपर्ने प्रावधान छ। २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा अनिवार्य रूपमा बैंक वा वित्तीय संस्थामार्फत लिनुपर्ने व्यवस्था गरिएको छ।
कुनै व्यक्ति वा संस्थाबाट स्वेच्छिक सहयोगको रूपमा नगद प्राप्त भएमा त्यसको रसिद वा भरपाई दिनुपर्नेछ। राजनीतिक दलको नाममा प्राप्त सहयोग दलको बैंक खातामा र उम्मेदवारको नाममा प्राप्त सहयोग उम्मेदवारकै बैंक खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मितव्ययी र पारदर्शी बनाउन यी व्यवस्थाहरू प्रभावकारी रूपमा लागू गर्न राजनीतिक दल र तिनका उम्मेदवारलाई बैंक खाता खोल्न सहजीकरण गरिदिन आयोगले आग्रह गरेको हो।
आयोगका अनुसार उक्त व्यवस्था समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारमा पनि लागू हुनेछ। दुवै निर्वाचन प्रणालीअन्तर्गत राजनीतिक दल र स्वतन्त्र उम्मेदवारका नाममा खोलिने बैङ्क खाता आमनिर्वाचन सम्पन्न भई आयोगले बन्द गर्न निर्देशन नदिएसम्म सञ्चालनमा रहनेछन्।
निर्वाचनसम्बन्धी आम्दानी र खर्चको पारदर्शिता सुनिश्चित गर्न प्रत्येक राजनीतिक दलका लागि छुट्टै एक वटा र प्रत्येक उम्मेदवारका लागि एक–एक वटा बैङ्क खाता खोल्ने व्यवस्था मिलाइदिन आयोगले नेपाल राष्ट्र बैङ्कलाई औपचारिक रूपमा अनुरोध गरेको छ।












