सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
‘जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो। वास्तवमा, सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो,’ उनले भने।
काठमाडौं, माघ ९ : राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु भएको बताएका छन् ।
राष्ट्रपति पौडेलले २५औं सशस्त्र प्रहरी दिवस–२०८२ का अवसरमा आज सशस्त्र प्रहरी बल नेपालको केन्द्रीय कार्यालय हलचोकमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन्।
उनले यसले उच्च व्यावसयिक सीप, क्षमता र कौशलको माध्यमबाट राष्ट्रहितलाई सर्वोपरि राखेर जनताको स्वतन्त्रता, स्वाभिमान र सम्पत्तिको सुरक्षा गर्दै प्रदान गरेको सेवा प्रशंसनीय रहेको बताए।
‘जब राष्ट्रमा सङ्कट पर्छ, विपद् आइलाग्छ, सीमामा चुनौती थपिन्छ र जब राज्यको अर्थतन्त्र कमजोर हुन थाल्छ सबैभन्दा अगाडि उभिने तपाईँहरू नै हो। वास्तवमा, सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गरी मुलुक र जनताको सर्वोत्तम हितका लागि काम गर्नु हो,’ उनले भने।
उनले आगामी निर्वाचन हाम्रो संविधान, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, स्थायित्व, सुशासन र विकाससँग जोडिएको बताए।
‘राजनीतिक दलसहित सबैको निर्वाचन प्रक्रियामा देखिएको चासो र उल्लासमय सहभागितासँगै यसलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा सघाउन सुरक्षा निकायले कुनै कसर बाँकी राख्ने छैन भन्ने मैले पूर्ण विश्वास लिएको छु’, राष्ट्रपति पौडेलले भने।
उनले संविधान, लोकतन्त्र र जनताको भरोसा नै यो सङ्गठनको सबैभन्दा ठूलो शक्ति हो भन्दै नागरिकको आँखामा देखिने विश्वास र राष्ट्रको मनमा बस्ने गर्व यसको साँचो परिचय बनिरहने विश्वास व्यक्त गरे।
सङ्क्रमणकालीन अवस्थाको पहिलो संविधान सभाको निर्वाचन २०६४ मा नेतृत्वदायी भूमिका र त्यसपछिका निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न यस सङ्गठनले मिलाएको सुरक्षा प्रबन्ध र व्यवस्थापनमा खेलेको भूमिका नागरिकले सधैँ स्मरण गर्ने उनको भनाई थियो।












