देशभर ४९ जनाले लिए उम्मेदवारी फिर्ता
‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन् । आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन्,’ उनले भने।
काठमाडौं, माघ ९ : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये देशभर ४९ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।
शुक्रबार निर्वाचन आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएकोमा ४९ जना उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्।
‘तोकिएको अवधिमा १६५ निर्वाचन क्षेत्रमा ६८ राजनीतिक दल र स्वतन्त्र उम्मेदवारसमेत गरी ३,४८७ मनोनयन पत्र दर्ता भएका थिए। दर्ता उम्मेदवारीमध्ये महिला ३९६, पुरुष ३,०९० र अन्य १ जना रहेका छन् । आज निर्धारित समयभित्र ४९ जना उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन्,’ उनले भने।
उनले माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको पनि जानकारी दिए। त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामावाली छपाई लगायतका कार्यहरु सञ्चालन भएको पनि उनले बताए।
‘माघ ११ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ भने फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत माघ १ गतेदेखि ९ गतेसम्म पहिलो हुने निर्वाचित हुनेतर्फको मनोनयन पत्र दर्ता, उम्मेदवार उपर दावी विरोध र छानबिन, उम्मेदवारी फिर्ता लगायतका कार्य सम्पन्न भएका छन्,’ उनले भने, ‘त्यस्तै समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरुको नामावली प्रकाशन, दावी विरोध संकलन लगायतका कार्य र समानुपातिकतर्फको मतपत्र छपाई, मतदाता नामवाली छपाई लगायतका कार्यहरु सञ्चालन भएका छन्।’
आयोगको अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरुलाई चुनाब चिन्ह् प्रदान गर्ने कार्यक्रम रहेको छ।












