आजको बैठकले गर्ने निर्णय ऐतिहासिक हुन्छ : महामन्त्री पौडेल
महामन्त्री पौडेलले विशेष महाधिवेशनमा गरिएको संकल्पअनुसार कांग्रेसको नेतृत्व र नीति परिवर्तन भइसकेको उल्लेख गर्दै अब देशको नेतृत्व परिवर्तन गर्ने दिशामा पार्टी अघि बढ्ने बताए।
काठमाडौं, माघ ९ : कांग्रेस महामन्त्री प्रदीप पौडेलले विशेष महाधिवेशनपछि पार्टी कार्यालय सानेपामा पहिलो पटक केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेको जानकारी दिएका छन्।
शुक्रबार सानेपास्थित पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले आज बस्ने केन्द्रीय समितिको बैठक निर्वाचन केन्द्रित महत्वपूर्ण र ऐतिहासिक हुने दाबी गरे। उनले बैठकले लिने निर्णयले देशभर नयाँ तरंग सिर्जना गर्ने र निर्वाचनमा कांग्रेसप्रति मत आकर्षण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।
‘आज विशेष महाधिवेशनपछि पार्टी कार्यालयमा पहिलो पटक केन्द्रीय समितिको बैठक बस्दैछ। यो बैठकले निर्वाचनलाई लक्षित गर्दै केही ठोस र ऐतिहासिक निर्णयहरू गर्नेछ,’ पौडेलले भने, ‘नेपाली कांग्रेसको इतिहासमै पहिलो पटक विधिवत रूपमा निर्वाचन लक्षित निर्णय हुन गइरहेको छ।’
महामन्त्री पौडेलले विशेष महाधिवेशनमा गरिएको संकल्पअनुसार कांग्रेसको नेतृत्व र नीति परिवर्तन भइसकेको उल्लेख गर्दै अब देशको नेतृत्व परिवर्तन गर्ने दिशामा पार्टी अघि बढ्ने बताए।
उनका अनुसार फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्ने कार्यक्रमसमेत आजको केन्द्रीय समितिको बैठकको कार्यसूचीमा समावेश गरिएको छ।
‘कांग्रेसको नेतृत्व र नीति परिवर्तनपछि देशको नेतृत्व पनि फेर्नेगरी कांग्रेसले नयाँ प्रस्ताव ल्याउने छ भनेर हामीले विशेष महाधिवेशनमा संकल्प गरेका थियौं। त्यही संकल्प बमोजिम कांग्रेस परिवर्तन भयो, कांग्रेस त नयाँ भयो,’ उनले भने, ‘अब कांग्रेसको नेतृत्वले देशलाई नयाँ बनाउनका निम्ती कांग्रेसको तर्फबाट फागुन २१ गते हुने निर्वाचनका लागि कांग्रेसले देशको प्रधानमन्त्री प्रस्ताव गर्ने कार्यक्रम हाम्रो आज केन्द्रीय समितिको बैठकमा राखिएको छ।’









![उत्तरी हिल्सा लगायत उच्च भूभागमा हिमपात [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-2_50ad1947-1790400726.jpeg)

